प्रकाश मैनाली
सर्लाही, साउन ८ गते ।
खोलामा खनिएको गहिरो खाल्डोमा डुबेर कविलासी नगरपालिका–१ पिपरियाका सदिम शेखकी १३ वर्षीया छोरी सेहानी खातुनको मृत्यु भएको छ ।
घरबाट १ किलोमिटर पश्चिम रहेको खोलाबाट बालुवा ल्याउने क्रममा बालिकाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । उनीसंगै घरका अन्य दुई बालिका रसिदा र खुस्बु पनि डुवेकोमा स्थानीयले उद्घार गरी निकालेको स्थानीय शेष सहदुल्लाहले जानकारी दिनुभयो । उहाँका अनुसार कविलासी नगरपालिका–५ का वडाध्यक्ष गिरीधारी रायले चारदिन अघि खोलामा खाल्डो बनाएर सिंचाईका लागि कुलो लगेका छन् । वडाध्यक्ष रायले लखन्देहीको तटबन्ध समेत भत्काएका छन् । वर्षामा बाढी आउने खतराको बेवास्ता गर्दै वडाध्यक्ष रायले तटबन्ध भत्काउ“दा त्यस क्षेत्रमा जोखिम समेत देखिएको छ । यता पिपरियाबाट बरहथवा जाने सडकमा पर्ने खोलाको बाटोमा मान्छे डुब्नेगरि खाल्डो खनेर पानी जमाएका छन् । जसका कारण यो चल्तीको बाटो अवरुद्ध भएको छ ।
वर्षाको समय अर्थात असार, साउन र भदौ तीन महिना खोलामा स्काभेटरको प्रयोगमा रोक लगाइएपनि वडाध्यक्ष रायले त्यसको बेवास्ता गर्दा घटना घटेको स्थानीयको भनाई छ । घटनाको बेला स्काभेटर नदीमै रहेको र पछि पर लगेको स्थानीयले जनाएका छन् ।
कविलासी–१ का वडाध्यक्ष दिपलाल रायले आफुसंग कुनै सल्लाह नै नगरी वडा नम्बर ५ का वडाध्यक्ष गिरीधारी रायले खोलामा गहिरो खाल्डो खनेको जानकारी दिनुभयो । पीडित परिवारले स्काभेटर नियन्त्रणमा लिनुपर्ने, दोषीलाई कार्वाही र आवस्यक क्षतिपूर्तिको ब्यवस्थाको माग गरेका छन् ।
यता कविलासी–५ का वडाध्यक्ष गिरीधारी रायले सिंचाईकालागि पानी लगेको जनाउ“दै स्थानीय नै सचेत बन्नुपर्ने तर्क गर्नुभयो । उहाँले वर्षाको बेला बालबालिका खोलामा जानु गलत रहेको बताउनु भयो। आफुहरुका कुनै गल्ती नभएको दावी गर्दै वडाध्यक्ष गिरीधारीले यसको कुनै प्रकारको दोष नलिने जानकारी दिनुभयो ।
‘मैले किसानका लागि कुलो खनेको हो, त्यसको लागी पानी नजमाई खेतमा पानी आउँदैन,’ वडाध्यक्ष गिरीधारीले भन्नुभयो, ‘वर्षाको बेला स्थानीयले नै सचेतना अपनाउनु पर्छ ।’ नगरपालिकाले खोलाबाट कुलो खन्नका लागि ५० हजार बजेटको ब्यवस्था गरे अनुसार खोलाबाट कुलो खनिएको उहाँले बताउनु भयो ।

