गाैशाला, २५ गते ।
आज नागदेवताकाे पुजा गरि नाग पञ्चमी मनाउँदै छ । आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ । यस दिन घरघरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन् । यी अष्टकुल नागको पूजा गरी मूल ढोका माथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । नाग देवता भूमिमा बस्छन् । भूमिमा खनजोत गर्दा नागलाई कष्ट हुने सम्भावना देखिएकाले नागपञ्चमीका दिन हलो जोत्न र जग खन्न हुँदैन भन्ने मान्यता छ ।
नागपञ्चमीका दिन नागको विशेष पूजाआजा गरिन्छ । यस दिन नाग देवताको प्रसन्नताका लागि दिनभरि व्रत बसी सूर्यास्तपछि नाग देवतालाई खीर चढाई प्रसाद ग्रहण गर्ने चलनसमेत रहेको छ। यसरी नागको पूजा–उपासना गरी द्वारमा नाग–नागिनीको चित्र टाँस्नाले सर्पभय हुँदैन भन्ने जनविश्वास छ । नाग पञ्चमीका दिन कामठमाडौंको टौदह, नागपोखरी लगायत नागको स्थान रहेका विभिन्न तलाउ, पोखरी र नागस्थानमा समेत धार्मिक मेला लाग्ने गर्दछ ।
नेपालमा नाग पञ्चमीको दिन ब्राह्मण पुरोहित अथवा कन्याहरूले कागजमा विभिन्न नागका चित्र हातैले बनाएर यजमानका घर घरमा पुर्याई टाँस्ने गर्दछन्। यसरी बनाएको नागको चित्रसँगै सूर्य, चन्द्र, शङ्ख, चक्र, गदा, पद्म, माछा, बिच्छी, खजुरो आदिका चित्र पनि समावेश हुन्छन् । नागसँगै खेतबारीमा भेटिने अन्य विषालु जीवहरूको समेत भय नहोस् भनी तिनको पनि चित्र बनाउने चलन छ । नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ । गाउँघरमा यही चित्रलाई नागदेवताको प्रतिमा मानी पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ ।
नागदेवतालाई पूजा गरी दूध, दूबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरिन्छ । यसरी पूजा गरेर तलको नाग स्तोत्र पाठ गर्नु पर्दछ ।

