गाैशाला, साउन २८ गते ।
महाेत्तरीकाे गाैशालामा आजदेखि मालपोत कार्यालय संचालनमा आएको छ । गाैशाला नगरपालिका – ५ स्थित गाैशाला बजारमा आजदेखि मालपोत कार्यालय संचालनमा ल्याएको हाे ।
मालपोत कार्यालय गौशालाले आफ्नो सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भको सुरुवात प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ज्युको हातबाट पहिलो रजिस्ट्रेसन गरि जग्गा खरिदबिक्री गर्ने जग्गा धनिलाई लालपुर्जा वितरण गर्नुभयाे ।

अथक प्रयासपछि यहाँ कार्यालय स्थापना गर्नका लागि सफल भएको हाे । यस कार्यालय स्थापना गर्न यहाँबाट नेतृत्व गर्ने संघीय सांसद मा. लक्ष्मी महाताे काेईरी, पुर्व मन्त्री गिरिराजमणि पाेखरेल, प्रदेश सांसद मा. भरत प्रसाद शाह, नगर प्रमुख डा. दिपेन्द्र महताे लगायत निर्वाचित जनप्रतिनिधीहरु, कर्मचारीहरु, नागरिक समाजका अगुवा, पत्रकार, व्यापारी लगायत पार्टीका प्रतिनिधीहरुकाे अहम भुमिका रहेको छ । जसले गर्दा अनेकौ व्यधा व्यवधान आएपनि सबैको मेहनेतको प्रतिफलले आजदेखि कार्यालय सुचारु भएका छन् ।
कार्यालय प्रमुख दिपेन्द्र कुमार झाले यहाँका कर्मचारीहरु स्वच्छ अनि सहज तरिकाले यस कार्यालय मातहतबाट उपलब्ध हुने कामकाजहरु गरिने उहाँले बताए । सबैको सहयोगमा हामीले कार्यालयबाट उपलब्ध हुने सेवा सुविधाहरु सेवाग्राहीलाई प्रदान हुनेमा झाले प्रतिवद्धता जनाएका छन् ।
प्रचण्डले गरेका थिए उद्घाटन
वि.सं. २०७८ साल चैत्र महिनामा गौशालामा नेकपा माओबादी केन्द्रका अध्यक्ष एवुम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन भुमि व्यवस्था तथा गरिवी निवारणमन्त्री शशि श्रेष्ठ संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका थिए । त्यस यता यहाँ कार्यालय स्थापनाका लागि सर्वपक्षीय डेलिगेशन अनेकौ पटक सरोकारवाला निकाय समक्ष पुर्याउँदा समेत कार्यालय संचालनमा आउन सकेको थिएन् ।
नापी कार्यालय चाँडै सुचारु हुने
गौशालामा चाँडै नै नापी कार्यालयबाट पनि सेवा सुचारु गरिने नापी कार्यालय महोत्तरीका प्रमुख किशन साहले बताएका छन । जलेश्वर नापी कार्यालयमा बुझि बु्झार्थ गरिदैँछौ । केही दिनमै गौशालाबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने उहाँले बताए ।
कार्यालय संचालनमा आएपछि गौशालाबासी लगायत यस भेगका जनताहरु धेरै खुशी छन । गौशालामा मालपोत तथा नापी कार्यालय नहुँदा जनसमुदायलाई टाढा गएर काम गर्नुपर्दा निकै खर्च हुने गरेको थियो । अब भने त्यस्ता समस्याबाट छुटकारा पाएका छन् । यस कार्यालयबाट गौशाला र औरही नगरपालिका र सोनमा र सम्सी गाउँपालिका बासीहरुले सेवा पाउने छन् । नापी र मालपोतको सेवा लिन सदरमुकाम जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ ।




