चन्दन कुमार महतो
राैतहट, साउन २८ गते ।
ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको आयोजना तथा वर्ल्ड भिजनको आर्थिक सहयोगमा रौतहटको चन्द्रनिगाहपुरमा मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इंटरनेशनल नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा रौतहटको गरुडा नगरपालिका र माधव नारायण नगरपालिकामा संचालित परियोजनाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
मिडिया परिचालन तालीममा सहभागी भएको परियोजनाका कर्मचारी र संचारकर्मीहरुलाई सहयोगी सस्था वर्ल्ड भिजनका स्पोन्सरशिप फिल्ड कोर्डिनेटर बाल कृष्ण खडकाले स्थानीय साझेदार सस्था ग्रामीण विकास केन्द्र नेपालसँगको सहकार्यमाँ संचालित बाल संरक्षण र सामुदायिक संलग्नता तथा स्पोन्सरशिप साथै पोषण र उत्थानशील जीविकोपार्जन कार्यक्रमको अवधारणा, लक्ष्य एवं उद्देश्यको बारेमा जानकारी गराएका थिए ।
खडकाले गरुडा नगरपालिकामा ३२५० र माधव नारायण नगरपालिकामा ४ हजार गरी ७ हजार २ सय ५० जनाकाे दर्ता गरिएका बालबालिका रहेको जानकारी गराए । अति गरिब रेखा मुनि रहेका परिवारका बालबालिका, कुपोषणका शिकार भएका, हिंसामा परेका असक्त अपांग बालबालिकालाई सहयोगी सस्थाले सहयोग दिने गरेको उनले जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले समाचार लेखन विषयको बारेमा प्रशिक्षण दिएका थिए । आयोजक सस्थाका उपाध्यक्ष ममता झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २० जनाको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

