धनबिर महतो
गौशाला, असाेज ५ गते ।
शिक्षामा भएको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि सवैको सकारात्मक भुमिका आवश्यक रहेको महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीले धारणा राखेका छन् । शनिवार नेपाल निवृत शिक्षक समाजले आयोजना गरेको सम्मान कार्यक्रमपछि कोईरीले सभालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् ।
उनले भने, ‘सामुदायिक विद्यालयमा शैक्षिक भ्रष्टाचार बढिरहेको छ । यसलाई अन्त्य गर्नु आवश्यक छ । निवृत शिक्षकले टिम बनाई समाजमा भईरहेको यस्ता वेथितीलाई अन्त्य गर्ने किसिमको भुमिका निर्वाह गरिदिनुस् ।’

यस उदाहरणीय कार्यका लागि आफुले हरसम्भव सहयोग गर्न तयार रहेको उनले बताएका छन् । उनले सवैलाई सामुदायिक विद्यालयमा भईरहेको गतिविधीलाई नजिकबाट नियाल्ने कार्य नियमित रुपमा गर्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रमकाबीच गौशालाका मेयर डा. दिपेन्द्र महतोले नगरपालिकाको विकास निर्माण कार्यका लागि निवृत शिक्षकलाई सहयोगीको भुमिका निर्वाह गरिदिनका लागि आग्रह गरेका छन् । मेयर महतोले भने, ‘हामी सबैका कारण सामुदायिक विद्यालयको शिक्षास्तर विग्रिएको छ ।

जसलाई सवैले मिलि सुधार गर्नुपर्ने आवश्यक छ । नगरपालिकाले आवश्यकता अनुसार नगरको शिक्षा सुधारका निम्ति भौतिक र जनशक्तिको वन्दोवस्त गरिएको छ ।’ २ करोडको आन्तरिक लगानीमा यहाँका सामुदायिक विद्यालयमा ५७ जना नगर शिक्षकहरु कार्यरत रहेको मेयर महतोले जानकारी दिएका छन् ।

संघिय सरकारले समयमै शिक्षा ऐन नल्याएकै कारण नेपालको शिक्षामा उल्लेखनीय सुधार आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकाई समितिका महोत्तरीका प्रमुख रेविका अमात्यले बताईन् । शिक्षा ऐन नभएकै कारण तीनैतहका सरकारवीच वेलावेलामा टकराव पैदा हुँदा शिक्षाको अवस्था अझ उल्झनमा फस्दै गएको प्रमुख अमात्यले धारणा राखिन् ।
उनले भनिन्, ‘विद्यालयमा अनुगमन न्युन छ । यहाँका पालिका आफ्नै काममा व्यस्त छ भने जिल्लामा कर्मचारीको अभाव रहेको छ । जसको कारण नेपालको शिक्षा सन्तोषजनक रुपमा अगाडि बढन सकेको छैन् ।’

कार्यक्रमकाबीच नेपाल निवृत समाजका केन्द्रिय उपाध्यक्ष दुर्गा दाहालले स्थानियतहले निवृत शिक्षकसँग सरसल्लाह लिएर कार्यसम्पादन गरे निश्चित रुपमा धेरै नै सहयोग हुने धारणा राखेका छन् ।
नेपाल निवृत शिक्षक समाज महोत्तरीका अध्यक्ष भरतप्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका समाजले प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरी र मेयर डा. दिपेन्द्र महतोलाई सम्मान गरेका थिए । कार्यक्रमकाविच वक्ताहरुले यहाँको शैक्षिक अवस्थाको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।






