
राजेश सिंह
गाैशाला, असोज ९ गते ।
पर्यटन प्रबर्धनका लागि सर्लाहीमा अन्तरक्रिया कार्यक्रम तथा विभिन्न सम्भाव्य पर्यटकीय स्थलहरु अवलोकन गरेको छ । बुधबार सर्लाहीकाे मलंगवामा पर्यटन प्रबर्धनका लागि हाेटल व्यवसाय तथा सराेकारवाला बिच अन्तरक्रिया कार्यक्रम गरि सर्लाहीका विभिन्न सम्भाव्य पर्यटकीय स्थलहरु अवलोकन गरेको हाे ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशको आयोजनामा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँकाे प्रमुख अतिथिमा स्थानिय सरकार र सराेकारवाला निकायहरूसँग अन्तरक्रिया तथा अवलोकन तथा पर्यटन प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री मियाँले मधेश प्रदेश एउटा पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र रहेको बताउदै त्यसको संरक्षण, प्रवर्धन र विकासमा सबैले लाग्नुपर्ने बताउनु भयो । पर्यटकीय क्षेत्रहरुको विकास भएमा प्रदेशको आर्थिक उन्नति प्रगति हुने भएकोले मधेश प्रदेशमा रहेको प्रख्यात क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचार प्रसारको आवश्यकता साथै त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरिने पनि जानकारी दिनुभयो ।
होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । केही पालिकाहरुमा नगर पर्यटन बाेर्ड गठन गरेपनि प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर प्रर्वद्धन र विकासमा परिचालन हुनुपर्ने बताउँदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हब बनाउन सकिने प्रशस्त आधारहरु भएको उहाँको भनाइ थियोे ।

मलंग बाबा मंन्दिर :
मंलगवा नगरपालिका ८ स्थित मलंग बाबा मंन्दिर जहाँ हिन्दु र मुस्लिम दुबै सामुदायका सबैले पुजा गर्ने गरेको छ । करिब ४ सय वर्ष पहिला स्थपित भएको मन्दिर हाे ।

राजदेवी माई मन्दिर :
मलंगवा नगरपालिका ९ स्थित राजदेवी माई मन्दिर छ । जहा हाम्रो मित्र राष्ट्र भारतका मुजफरपुरसम्म भक्तजनहरुले हाेलीकाे दिन मन्दिर आएर पुजापाठ गरेर घर फर्केपछि मात्र हाेलि खेल्ने गरेको मन्दिरका पुजारीले बताए । यस मन्दिरमा १ रुपैयाँ भन्दा बढी चढाउन नपाउने नियम बनाएको छ ।

चमेली माई मन्दिर :
कबिलासी नगरपालिका वडा न.१० सलेमपुरमा पर्छ । यस चमेली माई मन्दिरमा दसैँका अवसरमा विशेष चहलपहल हुन्छ । यहाँ घटस्थापनाको दिनदेखि दसैँको अन्तिम दिनसम्म दर्शनार्थीहरुको भिड लाग्छ । ऐतिहासिक धार्मिकस्थलको रुपमा रहेको मधेस प्रदेशका गन्तव्यमा यो मन्दिर पनि समावेश छ । यो मन्दिरको पनि आफ्नै महत्त्व छ । यहाँ दसैँमा मात्रै होइन, अन्य समयमा पनि बाटो हिँड्ने यात्रीले आ–आफ्नो सवारी साधन रोकेर देवीको दर्शन गर्ने गरेको छ ।

कविलासी नगरपालिका ५ रनिया स्थित सर्लहिया माईकाे मन्दिर छ । जसको महत्त्व र इतिहास आफ्नै छ ।
सर्लाहीकाे गढिमाई मन्दिर :-
कविलासी नगरपालिका–६ जमुनियाँमा पाँच–पाँच वर्षको अन्तरालमा लाग्दै आएको गढिमाई मन्दिर हाे । स्थानीयका अनुसार जुमनियाँस्थित गढिमाई मन्दिर ऐतिहासिक र पुरानो रहेको बताइन्छ । मन्दिरका हालका पूजारी असर्फी राउतले आफ्नो सात पुस्ता मन्दिरको पूजारी भइसकेको बताए । मुख्य गढिमाई मन्दिर जमुनियाकै भएको दाबी गर्दै पुजारी राउतले जमुनियामा बत्ती नबाली बाराको गढिमाईमा समेत बत्ती नबल्ने दाबी गरे । यहाँ भारतबाट समेत राँगा र बोका बली चढाउन भक्तजन आउने गरेको आयोजकले दाबी गरेका छन् ।

भरतताल :-
बागमती नगरपालिका वडा नं. ४ र १२ मा भरत ताल पर्छ । १ सय २१ बिघामा फैलिएको तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन् । सुरुमा माछापालनका लागि पोखरी खनिएको थियो । पछि, तालकै रूपमा विकास गरियो ।
मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्दैछ, भरत ताल । बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि भरत ताल पहिलो रोजाइमा पर्ने गरेको छ। पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।
देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा रहेको तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने क्रम पनि बढ्दो छ । कलकल बग्ने बागमती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। हावाको वेगसँगै तालमा छल्किने पानीले पर्यटक रोमाञ्चित बन्ने गरेका छन् ।
देशका अन्य नगरपालिका र गाउँपालिकाले भ्यू टावरबाट आम्दानी बढाउने योजना अघि सारिरहँदा सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले भने पृथक् काम गरेर देखाए, औपचारिक नामकरण नभए पनि भरत ताल’ को नामले १४ वटा फुटबल मैदान जत्रो यस पोखरी चर्चित बन्न पुगेको छ।

नगरले पोखरीलाई ’बागमती माछा पोखरी बनाउने योजना तयार पारेतापनि स्थानीयले भरत ताल नामकरण गरिदिएका छन् । हाल सबैले यस ताललाई भरत ताल नै भन्ने गरेको पाइन्छ । नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्न पुगेको हो ।
नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् । बिदाको दिन परिवार सहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको छ । तालको नजिकै सुमेरू पर्वत बनाउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना समेत गरिएको नगरपालिका स्रोतले जनाए ।
चुरेकै काखमा रहेको यस तालमा ३५ सिट क्षमता भएको जेटबोट सञ्चालनमा आएको छ भने अन्य साना बोट (मिनी क्रुज ) हरूमा पनि आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ । तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ । तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ ।

मधेसमा चुरे दोहनले पानीका मुहान दिन प्रतिदिन सुक्दै गइरहेका बेला तालले पानी रिचार्ज गरिरहेको छ । पहिले सुकेका तल्लो भेगका कुवा र इनारमा ताल निर्माणपछि पानी भरिन थालेको छ ।
अन्तरक्रिया कार्यक्रम तथा अवलोकनमा मन्त्री सकिल अलि मियाँ, लालबन्दी नगरपालिका नगर प्रमुख : बासुदेव अधिकारी, कविलासी नगरपालिका नगर प्रमुख : ब्रहमदेव यादव, नेपाल होटल तथा पर्यटन व्यवसाय महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, उपाध्यक्ष तथा जनकपुर उधाेग वाणिज्य संघका अध्यक्ष : सुरेन्द्र भण्डारी, व्यवसाय महासंघका जिल्ला तथा प्रदेशका पदाधिकारीहरु लगायत संचारकर्मीहरुकाे सहभागिता रहेको थियो ।



















































