सन्ताेष सिंह
धनुषा, असाेज १० गते ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । जयनगर–जनकपुर हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने पहल भइरहेको दाहालले बताए ।
धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुर देखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने भौतिक संचनाको काम जग्गा अधिग्रहण हुन नसक्दा अगाडि बढन नसकेको बताए । लालपुर्जा नभई ऐलानी जग्गामा बसोबास गर्नेहरुले मुआब्जा माग्दै जग्गा खालि नगर्दा बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन नसकेको मन्त्री दाहालले बताए ।

‘जग्गाको यथार्त म आफैं गएर बुझेँ,’ मन्त्री दाहालले भने, ‘बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको छ । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।’ मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्ति जग्गा खाली गर्न सहमत भए क्षतिपूर्ति दिन सकिने उनले बताए । मुआब्जाकै अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले पनि मुआब्जा दिने कुनै आधार नभएको बताएका कारण समस्या भएको हो ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउन जग्गा विवाद कानुनी व्यवस्थाअनुसार टुंग्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । जग्गा अधिग्रहण हुन नसक्दा बिजलुरा–बर्दिबास रेल्वे लिकको र स्टेसनको काम अगाडि बढन नसकेको शर्माले बताए ।

