
गाैशाला, असाेज ११ गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिका २ मदरसा टोल (पुरानो माछा बजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर संचालनमा रहेको खुश्बु टेन्ट हाउसको स्टोरमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।
शुक्रवार अपरान्ह करिब १२ बजे भएको आगलागी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानियहरुको अथक प्रयासपछि नियन्त्रणमा आएको छ ।

आगलागी लगतै घटना स्थलमा आईपुगेको जलेश्वर नगरपालिकाको वारुण यन्त्र अपर्याप्त भएपछि थप मद्दतको लागि मटिहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र आगलागी स्थलमा आएपछि आगाे नियन्त्रण भएको हाे ।
खुश्बु टेन्ट हाउसका संचालक अरविन्द साहका छोरा सत्यम साहले आगलागीको कारण बारे जानकारी नभएको बताए । उनले करिब ११ः३० सम्म सबै सामान्य नै रहेको र टेन्ट हाउसको पछाडीको जग्गामा सामानहरु राखेकोमा उतैबाट आगो देखिएको बताए । उनले टेन्टमा ५ थान ग्यास सिलिन्डर समेत भएको बताउदै सोहि मध्ये २ सिलिण्डर पडकिएपछि आगलागीले भिषण रुप लिएको बताए ।

यता आगलागीको जानकारी पाए लगतै अवस्था बुझ्न जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलाल प्रसाद जयसवार, मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डल लगायत व्यक्तिहरुकाे उपस्थित भएका थिए । जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले आगलागी नियन्त्रणका लागि सबै निकायलाई गुहारेका थिए ।
हाल सुरक्षा निकाय र सबैको अथक प्रयासले आगलागी पुर्ण नियन्त्रणमा आईसकेपनि कारण र क्षतिको विवरण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।














