काठमाडौं, असाेज १३ गते ।
सर्वोच्च अदालतका पूर्ण इजलासले सिधा कुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै समाचार स्रोत राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । र सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ ।
सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कँडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो ।
अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो ।

यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।

