राजन गाउँले
सिन्धुली, असाेज १३ गते ।
लगातारको वर्षासँगै रोशी र सुनकोशी नदीमा आएको बाढीले वितण्डा मच्चाउँदा जिल्लाकै सुन्दर पर्यटकीय क्षेत्र मुलकोट र खुर्कोट बगरमा परिणत भएको छ ।
मुलकोट र खुर्कोट बजार पूर्णरूपमा डुबानमा पर्दा दर्जनौं घरहरू खण्डहर भएका हुन् । सुन्दर बस्तीहरू बगरमा परिणत भएका छन् ।


आइतबार नदीमा आएको बाढीको बहाब कम हुँदै गएको छ। नदी आफ्नै लयमा फर्किदै गए पनि डुबान र कटानका कारण बजार तथा बस्तीहरू बगरजस्तै बनेका छन् ।
सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोशी गाउँपालिका-५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा र गोलन्जोर गाउँपालिका-७ को खुर्कोट बाजर पूरै डुबानपछि अहिले बगरमा परिणत भएको हो । बिहीबारदेखि लगातार परेको वर्षाका कारण सुनकोसी गाउँपालिका-५ मुलकोटमा पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरु डुबानमा परेको स्थानीय मनोज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार शुक्रबार मध्यराति सुनकोसी नदी बस्तीमा पसेको थियो । बस्तीमा नदी पस्ने भएका कारण रातभर जाग्राम बसेका स्थानीयले भागेर ज्यान जोगाउन सफल भए पनि होटल, पसल तथा घरका कुनै पनि सामान झिक्न पाएका छैनन् ।
बाढीका कारण करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका होटल तथा रिसोर्टमा क्षति पुगेको छ । होटलमा बसेकाहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको भए पनि होटल तथा पसलहरूमा भएका सरसामान केही निकाल्न नपाएको उनीहरूको भनाइ छ । मूलकोटमा मात्र ६० बढी घरहरू डुबानमा परेका छन् ।
क्वालिटीबीच रिसोर्ट, पौवा होटल तथा रिसोर्ट लगायत पूर्णरूपमा डुबानमा परेका थिए । सुन्दर सफल मुलकोट अहिले हिलो, लेदो र बगरमा परिणत भएको छ । यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन निक्कै कठिन हुने बताइएको छ ।
त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट बसपार्क बजार सुनकोसी नदीको डुबानमा पर्दा अहिले बगरजस्तै भएको छ । सय बढी होटल तथा पसलहरू नष्ट भएका छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन क्याम्पमा पनि क्षति पुगेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले बताए। ‘बाढीका कारण सयौं नागरिकहरू विस्थापित बन्नु परेको छ । बाढीका कारण दुई सयबढी घर, होटल तथा रिसोर्टलगायत सार्वजनिक भवनहरू जोखिममा परेका छन्,’ उनले थपे ।
सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोसी नदीस्थित सिन्धुली र रामेछाप जिल्ला जोड्ने पक्की पुलसमेत शनिबार दिउँसो बगाएको छ । केही वर्षअघिमात्र निर्माण सम्पन्न पक्की पुल बगाउँदा सिन्धुली र रामेछाप जिल्ला सम्पर्क विछेद भएका छन्।
उक्त पुलमा क्षति हुँदा सिन्धुली हुँदै रामेछाप र दोलखाबाट तराईका जिल्ला र राजधानी आउजाउ ठप्प भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेको भनाइ छ । बाढीका कारण घर तथा होटलहरु प्रभावित हुँदा विस्थापित भएकाहरु घर फर्कन सक्ने अवस्था छैन ।




