गाैशाला, असाेज १८ गते ।
महाेत्तरीकाे गाैशालामा बाढीमा मृत्यु भएको बालकका परिवारलाई दुई लाख राहत प्रदान गरेको छ । असोज १२ गते शनिबार नदीमा आएको बाढीमा बगेर मृत्यु भएका गौशाला नगरपालिका– ८ कुशमाडीका १६ वर्षीय रोहित साहका परिवारलाई संघीय सरकारले दुई लाख राहत प्रदान गरेको हाे ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप-अनुसन्धान निर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी बल नं.९ गण हे.वा. प्रमुख स.प्र.उ. बिनोद के.सी. र स्थानिय जन-प्रतिनिधी समेतको उपस्थितिमा निज मृतक रोहित साहको घर परिवारलाई राहत स्वरुप जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरको तर्फबाट नगद दुई लाख मृतकको घरमा पुगेर बुबा नारायण साहलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपतले ठुलो क्षति हुन गएकोमा मृतक परिवारलाई धैर्यधारणका लागि उनीहरूले आग्रह गरे । घर नजिकैको सोनी खोलाले बगाउँदा मृतावस्थामा रोहितको शव मरहा खोलामा घरबाट दुई–तीन किलोमिटर टाढा फेला परेको थियो । सोनी खोला कुशमाडी भन्दा केही अगाडि दक्षिणतर्फ मरहा खोलामा मिसिन्छ । रोहित पाँच भाइबहिनीमा एक्ला छोरा थिए ।
प्रमुख जिल्ला अधिकारीले सोही घटनामा सकुशल उद्धार गरिएकी बालिका ११ वर्षीया करिना महतोलाई पनि भेटेका छन् ।

