
गाैशाला, कार्तिक ७ गते ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना पुर्वपक्षका जेल चलान भएका छन् । वडाध्यक्ष यादवको ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका महोत्तरीको औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल पुर्वपक्षका लागि जेल चलान भएका हुन् ।
मंगलबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष मुकेश यादव सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।
घटना शंकास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए ।
जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु सञ्जीव र दिलीपलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
