
बर्दिवास, कार्तिक ७ गते ।
विश्व पोलियो दिवसको अवसरमा अक्टोबर २४ का दिन महोत्तरीको बर्दिवासमा मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। रोटरी क्लवअफ बर्दिवास र रोट्रयाक क्लवअफ बर्दिवासको संयुक्त आयोजनामा यहि कार्तिक ८ गते बिहिवार खुल्ला पुरुष तथा महिला मिनी म्याराथन प्रतियोगिता गर्न लागिएको रोटरी क्लबअफ बर्दिवासका अध्यक्ष बिष्णुराज पुरीले मंगलवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिए ।

बिश्वबाटै पोलियो रोग उन्मुलन गराउने लक्ष्य लिएर काम गरिरहेको रोटरीले खेलको माध्यमबाट शारीरिक, मानसिक र संवेगात्मक विकास गरी राष्ट्रप्रति जिम्मेवार बनाउने लक्ष्य राखेर मिनी म्याराथन प्रतियोगिता गर्न लागिएको क्लबका सदस्य तथा म्याराथन दौड प्रतियोगिताकी संयोजक सुमित्रा भट्टराईले बताईन।
उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १० हजार १ दोस्रो हुनेलाई ७ हजार १ तेस्रो हुनेलाई ५ हजार १ रुपैयाँ प्रदान गरिने छ।
त्यसकासाथै प्रथम, दोस्रो र तेस्रो हुनेलाई बर्दिवासको गौतम होटल,होटल गुञ्ज र होटल बिनायकमा दुईजनाको दरले डिनरको कुपन समेत प्रदान गरीने भएको छ । यसैगरी सान्त्वना हुने ७ जनालाई प्रसंशापत्र प्रदान गरिनेछ ।
बर्दिवासमै पहिलोपटक हुन लागेको म्याराथन दौड प्रतियोगितामा १ सय जना प्रतियोगी सहभागी गराउने रोटरीले लक्ष्य लिएको हो।
बर्दिवासको गौतम होटलको उत्तरतर्फ शिबपुराण महायज्ञ लगाईएको स्थानबाट शुरु भएर बुद्ध चोक,जनता बहुमुखी क्याम्पस हुँदै पुनह शिब पुराण महायज्ञ भएको स्थान सम्म करिब ९ हजार मिटर दूरीको प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि रोटरी क्लबअफ बर्दिवासले २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।
प्रतियोगितामा भागलिने ब्यक्ति १८ बर्ष पुरा गरेको हुनु पर्नेछ।
बिहान ७ बजेदेखी शुरुहुने दौड प्रतियोगितामा भाग लिने पुरुष, महिलाले नि—शुल्क भागलिन सक्नेछन। म्याराथन दौडमा भागलिने प्रत्येक खेलाडीलाई रोटरी क्लबअफ बर्दिवासले टि—शर्ट र टोपी प्रदानगर्ने आयोजक संस्थाका पास्ट प्रेशिडेन्ट हिरालाल गौतमले बताए।