
ऐजेन्सी
काठमाडौँ, कार्तिक ७ गते ।
साफ महिला च्याम्पियन सिप फुटबलमा नेपाल समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले श्रलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता बनेको भारतसँग खेल्ने छ ।
प्रभावशाली प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । सुरुवाती मिनेटदेखि आक्रमक बनेको नेपालले पहिलो हाफमा दबाबमा राख्दै सुरुवाती १५ मिनेटभित्रै तीन गोल गरेको थियो ।
सावित्रा भण्डारीले जारी संस्करणको आफ्नो पहिलो खेलमै गोल गर्दा उनले २ असिस्टसमेत गरिन् । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा, सविता राना मगर र अमिषा कार्की र रश्मी घिसिङले समान १–१ गोल गरेका थिए ।

खेलको आठौँ मिनेटमा सविताको गोलमा नेपालले अग्रता लिएको थियो। साम्बाले दिएको आकर्षक पासलाई सविताले सहज गोलमा परिणत गरेकी थिइन् । ११ औँ मिनेटमा साम्बाले डिबक्सबाहिरबाट आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाउँदा १३ औँ मिनेटमा नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन् ।
३७ औँ मिनेटमा नेपालले ४–० को अग्रता लियो। साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो हाफमै बलियो अवस्थामा पुर्याइन् ।
दोस्रो हाफमा पनि नेपालले सोही लयलाई निरन्तरता दियो। दोस्रो हाफको सुरुवातमै सविताको क्रसलाई अमिषाले सदुपयोग गर्दा नेपालले ५–० को अग्रता बनायो। टिमका लागि छैटौँ गोल इन्जुरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मि घिसिङले गोल गरेकी थिइन् । अब सेमिफाइनलमा भुटान र बंगलादेश तथा नेपाल र भारत भिड्ने छन् ।
