
चन्दन कूमार महतो
रौतहट, कार्तिक ११ गते ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा ‘धुवाँमुक्त अभियान’ अन्तर्गत ग्यास सिलिन्डर चूल्हों सेट सहित राहत सामग्री वितरणको गरिएको छ । गाउँपालिकाको प्रत्येक घरमा ग्यास सिलिन्डर चूल्हो सेट पुर्याउने लक्ष्य सहित गा.पा. अध्यक्ष : शम्भु कुमार सिंहले ग्यास सिलिन्डर चूल्हों सेट सहित पीड़ित परिवारहरुलाई राहत सामग्री वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन ।
“धुँवा मुक्त गाउँ पालिकाको पूर्वाधार, गृहिणीको स्वास्थ्य र सुरक्षाको आधार” भन्ने मूल नाराका साथ पालिका अध्यक्ष शम्भु कुमार सिंहले दुर्गा भगवती गाउँपालिका बासिहरुसंग गरेको चुनावी प्रतिवद्धता अनुसार आज यस अभियानलाई वडा नं. १ गंगा पिपराको दलित समुदायहरुबाट सुरुवात गरिएको हो । साथै बितेको अबिरल वर्षा तथा बाढ़ीले प्रभावित स्थानीय बासिन्दाहरुलाई ग्यास सिलिन्डर र चुल्हो सेटसँगै राहत स्वरूप खाद्यान्न सामग्री समेत वितरण गरिएको छ । राहत सामग्रिहरूमा चामल, दाल, खानेतेल, नून , आलू, सोयाबीन लगायत आवश्यक पर्नेहरूलाई त्रिपाल, झूल सहित अन्य सामग्री पनि वितरण गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको यस धुँवा मुक्त गाउँ अभियानको पहिलो चरणमा गंगापिपराका दलित परिवारहरूलाई ग्यास सिलिन्डर चुल्हो सेट वितरण सँगै आजको यस अभियान अन्तर्गत ५ सय ७३ थान ग्यास सिलिन्डर र चूल्हो सेट वितरण गरिएको हो । साथै यस अभियानलाई निरन्तर रुपमा सञ्चालन गरि पालिकाका सम्पूर्ण वडाबासी समक्ष पुर्याई गाउँपालिकालाई पूर्ण रुपमा धुँवा मुक्त बनाउने लक्ष्य राखेको अध्यक्ष सिंहले बताए । निर्वाचनको समयमा जनतासमक्ष आफुले गरेको प्रतिबद्धताहरूलाई पूरा गर्दै यो महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको तथा अबिरल वर्षा र बाढ़ीले प्रभावित स्थानीय बासिन्दाहरुलाई खाद्यान्न सामग्री सहित राहत सामग्री वितरण गरेको अध्यक्ष सिंहले बताए ।

उनका अनुसार – “हामीले जनताको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले धुवाँमुक्त अभियानको थालनी गरेका हौँ। यो योजनाले महिलाहरूलाई खाना पकाउने क्रममा धुवाँबाट हुने विभिन्न रोग – आँखाको रोग, दम तथा अस्थामा जस्ता रोगहरुबाट जोगाउनुका साथै सरसफाइमा सुधार ल्याउने विश्वास गरिएको छ।” साथै गाउँपालिकाका वडा नं. १ देखि वडा नं. ५ सम्मका करिब ४५ सय घरधुरीमा ग्यास सिलिन्डर वितरण कार्य क्रमशः सम्पन्न गरिने उनले बताए ।
धुवाँमुक्त अभियानले न केवल वातावरणीय सुधारको लक्ष्य राखेको छ, यसले गाउँपालिका भित्रको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। अध्यक्ष सिंहले आगामी दिनहरूमा पनि गाउँपालिकाको विकास र जनताको हितका लागि विभिन्न योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । स्थानीय बासिहरुले गाउँपालिकाको यो कदमलाई सराहना गर्दै अध्यक्ष सिंहप्रति आभार व्यक्त गरे । यसैगरी, आगामी चरणमा अन्य वडामा पनि समान रूपमा ग्यास वितरण गरिने बताइएको छ । यस वितरण कार्यमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रसाशन लगायत सञ्चारकर्मीहेको उपस्थिति रहेको थियो ।