महेश सिंह
लहान, कार्तिक १५ गते ।
लायन्स क्लब अफ लहान फुलबारीले सिरहाको लहान नगरपालिका वडा नं. २४ मा रहेको लेखनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा चौतारा निर्माण गरी नगरको शिक्षा र सरसफाइ प्रवर्द्धनमा उदाहरणीय योगदान गरेको छ । यस चौताराको उद्घाटनमा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, उपप्रमुख रामचरित्तर महतो, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू र विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा, चौतारा निर्माणका लागि आर्थिक सहयोग गर्ने पुष्पा देवी र हरिकिशन सारडालाई विशेष धन्यवाद दिइयो। विद्यालयका प्रधानाध्यापक बलराम सिंहले चौताराको निर्माणले विद्यालय परिसरमा सरसफाइको व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने र विद्यार्थीहरूलाई आरामदायक वातावरण दिने आशा व्यक्त गर्नुभयो ।
लायन्स क्लबका चार्टर प्रेसिडेन्ट राकेश झाका अनुसार, यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने मात्र नभई सामुदायिक हितमा पनि ठोस योगदान पुर्याउँछ। लामो समयदेखि शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय क्लबले, यस्तै सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा फुलबारी क्लिनिक तथा डाइग्नोस्टिक सेन्टरका सञ्चालक डा. रितेश गिरि, एल.आर.एल. ल्याबका सञ्चालक विजय कुमार यादव र मुक्तिनाथ विकास बैंकका रामगणेश महतोले समेत उपस्थिति जनाएर आफ्नो सहयोग प्रस्तुत गर्नुभयो ।
लायन्स क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताले चौताराले विद्यालयको वातावरण सुधार्न मद्दत पुर्याउने र विद्यार्थीहरूलाई सुरक्षित तथा आरामदायक स्थान उपलब्ध गराउने बताउनुभयो।
क्लबले नगरको शिक्षा, स्वास्थ्य, र सरसफाइको स्तर सुधार गर्न सामाजिक कार्यहरूमा सामुदायिक सहभागिता बढाउँदै फराकिलो दायरामा सेवा विस्तार गर्दै जाने योजना बनाएको छ। लहानका नागरिकहरूको जीवनस्तर उकास्ने उद्देश्यले लायन्स क्लब अफ लहान फुलबारीले निरन्तर सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले लहान नगरलाई समृद्ध र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ ।