
महेश सिंह
सिरहा, कार्तिक ३० गते ।
विश्व मधुमेह दिवसको अवसरमा सिरहाको लहानमा सगरमाथा चौधरी आँखा अस्पताल र रोटरी क्लब लहानको संयुक्त आयोजनामा बृहत् जनचेतना र्याली सम्पन्न भएको छ । यो र्यालीले मधुमेहजस्ता गम्भीर स्वास्थ्य समस्याबारे समाजमा व्यापक सचेतना फैलाउने प्रयास गरेको छ। लहान बजारका प्रमुख मार्गहरूमा प्रभात फेरीसहित गरिएको र्यालीले स्थानीयहरूमा उल्लेखनीय उत्साह र जागरण ल्याएको देखिएको छ ।
र्यालीको नेतृत्व सगरमाथा चौधरी आँखा अस्पतालका प्रबन्धक तथा रोटरी इन्टरनेशनल क्लब लहानका अध्यक्ष अभिषेक रोशनले गरेका थिए। रोशनले यस अवसरमा मधुमेहको गम्भीरता र यसको दीर्घकालीन असरबारे जनतालाई सचेत गराउँदै भने, “मधुमेहबाट कसैको पनि ज्यान अकालमा जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो । स्वस्थ जीवनशैली र सही खानपानले यस रोगलाई रोक्न सकिन्छ ।” उनले यस किसिमका जनचेतना कार्यक्रमले मधुमेहविरुद्ध समाजमा चेतना फैलाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार सिंह, विशिष्ट अतिथिका रूपमा पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य, रोटरी क्लबका सचिव प्रदीप गुप्ता र स्थानीय समाजसेवी गोपाल गुप्ता उपस्थित थिए। अतिथिहरूले मधुमेह नियन्त्रणका लागि स्वस्थ जीवनशैलीको महत्त्वबारे चर्चा गर्दै नियमित स्वास्थ्य परीक्षणलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिए ।

मधुमेहलाई “मौन हत्यारा” का रूपमा व्याख्या गर्दै प्रमुख अतिथि सिंहले भने, “धेरै मानिसले मधुमेहलाई गम्भीरतासाथ नलिने प्रवृत्ति छ। यो रोगको सुरुवाती चरणमा लक्षण देखिदैन, तर दीर्घकालमा यसले हृदय, मृगौला, आँखा र अन्य अंगहरूमा गम्भीर असर पुर्याउँछ।” उनले जनस्वास्थ्यका लागि यस किसिमका जनचेतना र्यालीहरू अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
र्यालीमा सहभागीहरूले “शुगर मुक्त परिवार” को कल्पना गर्दै मधुमेह विरुद्ध एकजुट हुनुपर्ने सन्देश फैलाए। उनीहरूले नियमित व्यायाम, सन्तुलित आहार, र समय-समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने कुरामा विशेष ध्यान दिए। कार्यक्रममा स्थानिय विद्यालयका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरूको व्यापक सहभागिता रहेको थियो ।
यस प्रकारका कार्यक्रमहरूले समाजमा मधुमेहजस्ता दीर्घकालीन रोगप्रति चेतना फैलाउने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको आयोजकहरूले बताए ।