
गोपाल बराल
बर्दिवास, कार्तिक २९ गते ।
महिला क्रिकेटर पूजा महतोको सफलताप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुशी व्यक्त गर्नुभएको छ । बिहीबार आफ्ना प्रेस सल्लाहकारलाई पूजाको घर पठाएर मुख्यमन्त्री सिंहले परिवारजनबीच आफ्नो खुशीको सन्देश पुर्याउनुभएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कणर् पूजाको महोत्तरी जिल्लाको गौशाला-९ डुमरवानास्थित घरमै पुगेर मुख्यमन्त्रीको सन्देश पुर्याउनुभयो ।
“हामी पूजा नेतृत्वको महिला क्रिकेटर टोलीको सफलतामा अत्यन्त खुशी छौं, मधेशकी छोरीले नेपालको शान बढाउनु भएको छ, मधेश सरकार पूजामार्फत यो टिमप्रति उच्च सम्मान व्यक्त गर्दछ” पूजाका घर र डुमरवाना बस्तीका सर्वसाधारणबीच मुख्यमन्त्रीको सन्देश सुनाउँदै कणर्ले भन्नुभयो, “मधेश सरकार खेलकुदको व्यवस्थित विकासका लागि योजनाबद्ध रुपले लाग्ने विश्वास दिलाउँछु ।”
नेपाली महिला खेलाडीको सफलता
नेपाली महिला क्रिकेट टिमले इतिहास रच्न सफल भएको छ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । आईसीसी महिला यु–१९ महिला टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनौट हुन सफल भएको छ ।
आगामी वर्षको जनवरी १८ बाट मलेसियामा हुने खेलमा नेपालले सहभागिता जनाउने भएको हो । खेल मैदान र हौसलाको अभावका बाबजुद पनि नेपाली चेलीहरुले खेलेको उत्कृष्ट खेलले नेपाल विश्वकप खेल्ने राष्ट्रको रुपमा छनौट भएको हो । सरकारको लगानी लगभग शून्यको अवस्था भए पनि नेपाल विश्वकपमा छनौट हुनुले नेपाल र नेपालीको शिर विश्वसामु ठाडो बन्दै गएको छ ।
बुधबार मलेसियासँग भएको अन्तिम छनौट खेलमा नेपालले सानदार प्रदर्शन गर्दै आफ्नो साख जोगाउन सफल भएको हो । विश्वकप छनौट खेलमा नेपाल र युएई आम्नेसाम्ने भएका थिए । लगातार ४ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको युएईलाई हराउँदै नेपाल विश्व कपका लागि छनौट भएको हो । पछिल्लो समय नेपालमा खेलकुदका गतिविधि अघि बढे पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकिरहेको परिप्रेक्ष्यमा नेपाली महिला क्रिकेट टोलीले दिलाएको सफलताले भने नेपाल र नेपालीले आफूलाई गौरवको महसुस गर्न थालेका छन् ।
आगामी वर्ष हुने विश्वकपका लागि नेपालले छनौटमा परेका खेलाडीलाई अझै परिस्कृत हुने गरी विश्वकपका लागि तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ । अबको तीन महिनापछि हुने विश्वकपमा नेपालको सशक्त उपस्थितिका लागि बन्द प्रशिक्षणका निम्ति तयारी गर्न नेपाल क्रिकेट संघले ढिलाइ गर्नुहुँदैन ।