काठमाडौं, मंसिर ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् ।
आज (शुक्रबार एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले एमाले हात्तिहरुको बथानजस्तै रहेको र नाङ्लो ठटाएर आफूहरु नतर्सिने बताएका हुन् ।‘केही मान्छेहरु हात्तिको बथानमा गएर नाङ्लो ढ्याङ्ढ्याङ पारेर हात्ति तर्साउन खोजिरहेका छन् । एमाले भनेको हात्तिको बथानजस्तो हो । यहाँ नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैनन्,’– उनले भने ।
साथै, उनले बाहिर फैलाइएको अफवाहको कुनै प्रवाह नगरी लगानी गर्न पनि आग्रह गरे । केही तत्वहरुकाले फैलाएको अफवाहको कुनै औचित्य नै नरहेको उनको भनाइ छ । आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) तर्फलक्षित गर्दै आफूले नेपाललाई ऋणमा पार्न नचाहेको बताए ।