
गाैशाला, पुस २ गते ।
प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २०८१ असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा–९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई पक्राउ गरेको छ ।
उनलाई प्रहरीले सूचनाको आधारमा विरगंजबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमा यही असोज २३ गते बिहान जिल्लाको बर्दिबास नगरपालिका ५ टुटेश्वर जङ्गलमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव प्राप्त भएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित यादवलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।
उहाँले सो बेला तालिमप्राप्त कुकुरहरु लगाएर घटनास्थलको चेकजाँचसँगसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतहरुमा फोटोसहितको विवरण समेत राखिएको बताउनुहुँदै घटनाको पाँच दिनपछि सर्लाहीकै अनु राय रहेको अभिभावकहरुले सनाखत गरेको बताउनुभयो । अनुले असोज २२ गते अभिभावकहरुलाई म साथी सन्दिपलाई भेट्न विरगंज जान लागेको जानकारी गराएको तर त्यसपछि उनको शव मात्रै भेटेको अभिभावकहरुले जानकारी दिएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिनुभयो ।
मन्दिप र अनुसँग कक्षा चारदेखि नै चिनजान र प्रेम रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुबीच विवाहलाई लिएर वादविवाद हुँदै आएपनि बर्दिबासमा भेटकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेपछि मन्दिपले पनि थप्पड हान्दा उनी वेहोस भएको र मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीबाट घाँटी कसी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
ख्याल ख्यालमै प्रेमिले प्रेमिकालाई घाँटी कसि मारेर बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको बताउनुहुँदै प्रहरी उपरिक्षक जैसवारले भन्नुभयो, “पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्विकार गरेको छ ।”
प्रहरी नायव उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा, फोनको लोकेसन तथा महिनौको अथक प्रयासपछि मन्दिपलाई पक्राउ गर्न सकिएको बताउनुहुँदै अदालतबाट म्याद थप समेत गरिएको जानकारी दिनुभयो ।