
गाैशाला, पुस ३ गते ।
“सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार” भन्ने मुल नारा सहित विविध कार्यक्रम गरी अन्तराष्ट्रिय आप्रावासी श्रमिक दिवस २०२४ मनाइएको छ । सो अवसरमा बर्दिवास नगरपालिकाले पनि बर्दिवास चोकमा दिप प्रज्वलन गरि दिवस मनाएको छ । नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका सांसद शारदा देवि थापा रहेकी थिइन् ।
मधेस प्रदेश सांसद शारदा देवी थापाले शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा स्थानीय आय आर्जनमा योगदान पुगी गरिबी घटाउने प्रमुख कारण वैदेशिक रोजगारी बनेको बताइन् । विदेशमा आर्जित रकम र सीपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जनामा महत्वपूणर् भूमिका निर्वाह गरेको उनले बताइन् । उनले वैदेशिक रोजगारीले केही समाज र परिवारमा विखण्डन र विचलन बढेको, कृषियोग्य जग्गाजमिन बाँझो रहेको, गाउँमा वृद्धवृद्धाको मात्रै उपस्थिति भएको र देशमा युवाशक्तिको अभाव भएको बताइन् ।
उनले तीनै तहको सरकारले देश मै रोजगारीको अवसरहरु सृजना गर्ने गरि योजनाहरु ल्याउनु पर्ने बताइन् । नगरप्रमुख क्षेत्रीले कोहि विदेश जान्छु भन्ने सोच आउने वित्तिकै पहिलो काम भनेको पासपोर्ट वनाउन प्रशासन कार्यालय जान्छ तसर्थ हाम्रो नगरपालिकाले पहिलो काम नै पासपोर्ट वनाउने ठाउँमा एकजना कर्मचारी काउन्सीलिङको लागि राखिदिएको बताए ।
काउन्सेलरले पासपार्ट बनाउन आउनेलाई नेपालमै सिप सिकेर रोजगारमा संलग्न हुन वा वैदेशिक रोजगारमा जानै पर्ने भएपनि सम्वन्धित ज्ञान, सिप, तालिम सिकेर त्यो देश सम्वन्धी जानकारी लिएर जाने भन्ने वारेमा परामर्श दिने गरेको नगरप्रमुख क्षेत्रीले जानकारी दिए । उनले भने, “हाम्रो देश नै रेमिट्यान्सवाट चलेको भन्ने वारेमा दुविधा रहनु हुँदैन ।
सरकारले देशमा रोजगारी सिर्जना गर्न नसक्दा धेरै युवा बाध्यतामा पनि वैदेशिक रोजगारीमा जानु परेको छ । हाम्रो वुवा हजुरवुवाको पालमा डालाभरी मकै कोदो हुन्थ्यो खलाभरी भनौ भकारी भरी धान गहु हुन्थ्यो वाहिरका व्यापारीहरु आएर किनेर लान्थे तर अहिले हामि कोहि काम नगर्ने वसि वसि मिठो मसिनो खाने भएर हामी परनिर्भर भएका छौ ।” प्रमुख क्षेत्रीले वर्दिवास नगरपालिकामा प्रदेशकै तालिम केन्द्र खोल्न पहल गरीरहेको बताउँदै उनले वैदेशिक रोजगारमा जानेलाई तालिम र सिपयुक्त वनाएर पठाउन सके भने धेरै भन्दा धेरै आम्दानी गर्न सक्षम हुने बताए ।
कार्यक्रममा वर्दिवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि अधिकारीले वैदेशिक रोजगारीमा जाने तथा जान चाहने व्यक्तिहरुर्ला सूचना तथा परामर्श सेवा प्रदान गर्न नगरपािलकाले विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिए । श्रम स्विकृतिमा सहजीकरण, परामर्श कार्यक्रम, वैदेशिक रोजगार सन्तति छात्रवृतिमा सहजीकरण, रिटर्नि स्वयमसेवकवाट घरभेटघाट कार्यक्रम गरी वैदेशिक रोजगार सम्वन्धी सुचना प्रदान, वैदेशिक रोजगारीको क्रममा विरामी हुँदा निःशुल्क टेलिमेडिसिन सुविधा लिन सम्पर्क गर्ने जानकारी सम्वन्धि कुरामा सहजिकरण गर्ने जस्ता कार्यहरु गरीरहेको बताए ।