
सर्लाही, पुस ८ गते ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि त्रिवि क्रिकेट मैदानमा भएको आक्रमणको विरोधमा सर्लाहीमा प्रदर्शन भएको छ ।
सोमबार बिहान सर्लाहीको सलेमपुरमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
फाइनल सकिएपछि सर्लाही बलराका अमन कुमार सिंहलाई एउटा समूहले घाइते बनाएको थियो । सिंहको दुबै हात भाँचिएको छ । उनलाई वीर अस्पतालमा राखेर उपचार गरिँदै छ ।
प्रदर्शनकारीहरूले जनकपुर बोल्ट्समाथि असभ्य तरिकाले गाली गर्ने, कुटपिटमा उत्रिने सबैलाई कारबाहीको माग गरेका छन् । जनता समाजवादी पार्टीनिकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो ।
नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका–१०, सलेमपुरमा चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् ।
सडकमा टायर बालेर प्रदर्शन गरेपछि बसलगायत ठूला सवारी त्यही रोकिएका छन् भने साना सवारी वैकल्पिक मार्ग भएर पास भइरहेका छन् ।
सिंहमाथि कुटपिट भएपछि दोषीलाई कारबाही माग गर्दै मधेशी आयोगमा उजुरी परेको छ । उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाहले बताएका छन् ।