
रौतहट, पुष ९ गते ।
विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन् ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलबार दिउँसो कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको हो । जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसंगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन् ।
मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्। मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो ।
बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन । बैठकमा केही वडा अध्यक्षसहित केही कार्यपालिका सदस्यहरुले उपस्थितिमा हस्ताक्षर गरेका थिए । तर सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताइन् ।
उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताइन् । मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन् ।
यसै बीच मेयर जैसवालको इशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवले जानकारी दिएकी छिन् ।
तालाबन्दी पछि जनप्रतिनिधिहरुले सञ्चारकर्मीसँग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरुको घर घरमा राति-राति लागेर हस्ताक्षर गराइरहेको बताएका छन् । हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाइरहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन् ।
कटहरिया नगरपालिकाको ९ वटै वडामा झण्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए । उक्त करारका कर्मचारीहरुले २० महिनासम्मको तलब पाएका छैनन् तर मेयर जैसवाल उनीहरुलाई तलब ख्वाउनुको सट्टा केहीदिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठूलो अन्याय गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरुलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन् । गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर नभएसम्म तालाबन्दी यथावत रहने जनप्रतिनिधिहरुले अडान राखेका छन् ।
सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ । नेपाल सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको इशारामा नगरको करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन् ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो, २ का वडा अध्यक्ष हरेन्द्र साह, ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी, ७ का महमदसहित वडा सदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो । २०७४ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादव सहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।