
महेश सिंह
लहान, पुस ९ गते ।
सिरहाको धनगढीमाई नगरपालिका-७ स्थित श्रमजिवी अस्पतालको प्राङ्गणमा मंगलबार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि., लहानको आयोजनामा, धनगढीमाई नगरपालिकाको समन्वय र अर्किड पब्लिक सेकेन्डरी स्कूलको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता टाइम्स इन्स्टिच्युटका संस्थापक भोलाजित नेपालले गर्नुभयो । प्रमुख अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो उपस्थित हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठ, श्रमजिवी अस्पतालका सञ्चालक पञ्चलाल महतो, अर्किड कलेजका निर्देशक दिपेश बास्तोला र शिक्षा शाखा प्रमुख सावित्री कुमारी साह सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगितामा नगरका १४ विद्यालय (६ निजी र ८ सामुदायिक)का विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा सुनगाभा स्कूल प्रथम, सगरमाथा प्राज्ञ पीठ दोस्रो र विश्व शान्ति स्कूल, जिरोमाइल तेस्रो स्थानमा रहे । विजयी विद्यालयहरूलाई शिल्ड, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिएको छ ।

अर्किड कलेजले विजेताहरूलाई छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। पहिलो स्थान प्राप्त विद्यार्थीलाई ८० प्रतिशत, दोस्रो स्थानलाई ७० प्रतिशत र तेस्रो स्थानलाई ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिनुभयो । कलेजले प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा करिब एक हजार दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। शिक्षा शाखा प्रमुख सावित्री कुमारी साहले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनमा प्रेरणा दिने र भविष्यमा सरकारी सेवामा उच्च स्थान हासिल गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका संस्थापक भोलाजित नेपालले प्रतियोगिताले निजी र सामुदायिक विद्यालयहरूबीच समन्वय र सहकार्यको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।
