
धनबिर महतो
गाैशाला, पुस १० गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले बुधबार पदभार ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित एक समारोहकाबीच अध्यक्ष महेशकुमार दासको नेतृत्वमा शाखाका कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।
निर्वतमान कार्यवाहक अध्यक्ष हेमकुमारी वराल (सुनिता) ले शाखाका नवनिर्वाचित अध्यक्ष महेशकुमार दासलाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरणपछि आयोजित शुभकामना कार्यक्रमकाबीच वक्ताहरुले स्वच्छ पत्रकारिता गरि देशमै नमुना जिल्लाको रुपमा स्थापित गर्नका लागि वक्ताहरुले जोड दिएका हुन् ।
कार्यक्रमकाबीच प्रमुख अतिथी जिल्ला समन्वयन समितिका प्रमुख सुमनलाल कर्णले स्वच्छ पत्रकारिताको विकास गर्दै जनस्तरलाई सहयोगीको रुपमा पत्रकारलाई भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख कर्णले पित पत्रकारितालाई त्याग गर्दै स्वच्छ पत्रकारिता अपनाउनको विकल्प नरहेको धारणा राखेका छन् ।
सोहीविच प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यहाँका जनसरोकार राख्ने निकायमा भईरहेको वेथिती र विसंगतिको विरोधमा कलमको माध्यमले सचेत गराई महोत्तरीमा सुशासनको अनुभव हुनेमा जोड दिएका छन् ।
कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षत्रय ईश्वरी प्रसाद पौडेल, हरिप्रसाद मण्डल, दरशथ भण्डारी र कार्यवाहक अध्यक्ष सुनिता वरालले महोत्तरीको पत्रकारिताको सवालमा चर्चा गरेका थिए ।
सोहीविच मटिहानीका मेयर हरिप्रसाद मण्डल, गौशालाका मेयर डा. दिपेन्द्र महतो, जलेश्वरका सुरेश साह सोनारले पत्रकारिताक्षेत्रलाई विकसित गर्नका लागि आगमी दिनमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
शाखाका नवनिर्वाचित अध्यक्ष महेशकुमार दासले जिल्लाभरिमा स्वच्छ पत्रकारिताको विकास गर्दै पत्रकारको जनजिविकासँगको सवालमा केहीमात्रामा भएपनि फरकपनको अनु्भव दिलाउनेमा प्रतिवद्धता जनाएका छन् । कार्यक्रमकमा जिल्लाभरिमा कार्यरत रहेको संचारकर्मीहरुको सहभागी रहेका थिए ।