
गाैशाला, पुस २६ गते ।
महाेत्तरीकाे जलेश्वरमा आयोजित एक कार्यक्रममा साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (ए.आई.) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका मुख्य प्रशिक्षक जीवन भण्डारीले ए.आइ. तथा साइबर सुरक्षाको महत्व र कृत्रिम बुद्धिमत्ता क्षेत्रका सम्भावनाहरूमा प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघ महाेत्तरी शाखाकाे सभाहलमा आमसञ्चार प्राधिकरण, मधेस प्रदेश, जनकपुरधामकाे आयोजना गरेको थियोे । जसमा विभिन्न मिडियामा काम गर्ने पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य सहभागीहरूलाई साइबर सुरक्षासँग सम्बन्धित जोखिमहरूबारे सचेत गराउनुका साथै ए.आई. प्रविधिको विकास र यसले समाजमा पार्न सक्ने प्रभावहरूको बारेमा जानकारी गराउनु थियो ।
कार्यक्रमको सुरुवात आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले स्वागत मन्तव्य राख्दै ए.आइ. प्रविधिको महत्त्व बारे प्रकाश पार्दै यस तालिमले पत्रकारितामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताए । उनका अनुसार ए.आइ.को प्रयोगले समाचार लेखन सजिलो, छिटो र प्रभावकारी हुने मात्र होइन, खोज पत्रकारिता र अनुसन्धानमा कम जनशक्तिमा पनि उत्कृष्ट परिणाम ल्याउन सकिनेछ बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले साइबर सुरक्षाको वर्तमान अवस्थाबारे धारणा राख्दै, डिजिटल युगमा साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सतर्कता र तयारीको महत्त्वबारे जोड दिनुभयो । साथै, कृत्रिम बुद्धिमत्ताको विकासले आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा पुर्याउन सक्ने योगदानबारे पनि चर्चा गरियो ।
कार्यक्रमका अन्त्यमा सहभागीहरूले विभिन्न प्रश्नहरू राख्दै विषयवस्तुबारे थप जानकारी लिएका थिए । आयोजक संस्थाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।






