
गाेपाल झा
महोत्तरी, पुष २७ गते ।
महोत्तरीको एकडारा स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । गर्भवती महिला तथा शिशुहरूको स्वास्थ्य जाँचलाई सुरक्षित बनाउन यो सेवा प्रारम्भ गरिएको हो । वर्ल्डभिजनको सहयोगमा उपलब्ध अल्ट्रासाउण्ड मेसिनको उपयोग गर्दै एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले एक कार्यक्रमबीच यो सेवाको उद्घाटन गरे ।
यस सेवाको माध्यमबाट वार्षिक ९०० लक्षित गर्भवती महिलामध्ये ३५० भन्दा बढी महिला लाभान्वित हुँदै आएका छन्। अध्यक्ष मण्डलले भिडियो एक्सरे सेवाले मातृ तथा शिशु मृत्युदर कम गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै, अब गर्भवती महिलाहरूले जनकपुर वा जलेश्वर जानुपर्ने बाध्यता हटेको र खर्च बचत भएको बताएका छन् ।
कार्यक्रममा युनिसेफ तथा मधेश प्रदेश स्वास्थ्य आपूर्ति महासाखाले पाँच थान ल्यापटप हस्तान्तरण गरे । उद्घाटन समारोहमा अध्यक्ष मण्डलले स्वास्थ्य संस्थाका लागि आठ कट्ठा जग्गा दान गर्ने स्थानीय दाताहरूलाई सम्मानित गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न समाजसेवी, शिक्षक, कर्मचारी, तथा पत्रकारहरूको उपस्थिति थियो । सहभागीहरूले भिडियो एक्सरे सेवाको दुरुपयोग नगर्न आग्रह गर्दै यसको सञ्चालनप्रति खुशी व्यक्त गरे ।