
पवन प्रसाद शाह
बिरगंज, पुस २८ गते ।
आम जनता पार्टी (आजपा) ले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गर्दै शनिबार बिरगंजमा बृहत खबरदारी सभा गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आयोजित सभामा भ्रष्टाचारविरुद्ध कडा चेतावनी दिइएको छ।
अध्यक्ष प्रभु साहले वीरगंजको ऐतिहासिक गौरव र आर्थिक महत्त्वलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै, वीरगंजलाई यथाशिघ्र आर्थिक राजधानी घोषणा गर्न माग गरे। उनले भने, “वीरगंजले देशलाई सबैभन्दा बढी राजस्व बुझाउँछ, तर सोही अनुपातमा विकास हुन सकेको छैन। वीरगंजको चौतर्फी विकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ।”
साहले सरकारले भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै, भ्रष्टाचारलाई संरक्षण दिने कार्य भइरहेको आरोप लगाए। उनले थपे, “प्रधानमन्त्री केपी ओलीको सरकार भ्रष्टाचारीलाई जोगाउने र काण्डहरू लुकाउने काममा व्यस्त छ। यसरी देशको समृद्धि असम्भव छ।”
सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, राजन यादव लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। आजपाले वीरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।