
धर्बेन्द्र झा
जनकपुरधाम, पुस २८ गते ।
वैदेशिक रोजगारीका लागि विदेश जान चाहने युवाहरूले विदेश जानुअघि आफ्नो कामबारे आवश्यक जानकारी र परामर्श लिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा यो सुझाव दिइएको हो । कार्यक्रममा सहभागी विज्ञहरूले जानकारीको अभावमा धेरैजसो युवाहरू विदेशमा समस्यामा पर्ने गरेका छन् भने विदेश जानुअघि कामको बारेमा प्रस्ट बुझ्न जरुरी रहेकोमा जोड दिएका छन् ।
धनुषामा सञ्चालन भइरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत युवाहरूलाई वैदेशिक रोजगारीका लागि आवश्यक सूचना, परामर्श, र सीपमूलक तालिम दिइँदै आएको छ । यस कार्यक्रमले परिवारका सदस्यहरूलाई मनोसमाजिक परामर्श दिने र युवाहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न सहयोग गर्ने कार्य पनि गर्दै आएको छ ।
कार्यक्रमका जिल्ला संयोजक सौरभ कर्णले धनुषा जिल्ला लगातार आठ वर्षदेखि नेपालकै सबैभन्दा धेरै युवाहरू विदेशिने जिल्ला बनेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशबाट एक लाख ७२ हजार ६१ जना विदेश गएका थिए, जसमध्ये ३९ हजार १०७ जना धनुषाबाट थिए । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा मात्रै मधेश प्रदेशबाट ७३ हजार ४३६ जना विदेश गएका छन्, जसमा १७ हजार ३७३ जना धनुषाबाट छन् ।
कर्णले पुरुषसँगै महिला पनि विदेश जान थालेको बताए। आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशबाट तीन हजार ७२७ जना महिला विदेश गएका थिए, जसमा धनुषाबाट ३०६ जना महिला रहेको जानकारी उनले दिए। वैदेशिक रोजगारीका क्रममा ठगिएका वा दुर्घटनामा परेका व्यक्तिहरूको समस्या समाधान गर्न उजुरीको आधारमा संस्थाले सहयोग गर्ने गरेको कर्णले बताए ।
कार्यक्रममा सहभागी विज्ञहरूले विदेश जानुअघि युवाहरूले आफूले गर्ने काम, कार्यक्षेत्र, कामका शर्त, तथा सम्भावित जोखिमबारे पूर्ण जानकारी लिनुपर्ने सुझाव दिएका छन् । साथै, उनीहरूले विदेशमा समस्या परेमा कुन संस्थाबाट सहयोग प्राप्त गर्न सकिन्छ भन्नेबारे पनि जानकारी लिन आवश्यक रहेको बताए । सुरक्षित आप्रवासन कार्यक्रमले यस दिशामा युवाहरूलाई आवश्यक सबै प्रकारका परामर्श र सहयोग प्रदान गरिरहेको छ ।
यस प्रकारका कार्यक्रमले वैदेशिक रोजगारीमा जाने युवाहरूको सचेतना र सुरक्षाका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।