
सर्लाही, माघ २८ गते ।
४० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दोषी राजु सिंहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जारी गरेको प्रेश विज्ञप्तिका अनुसार, राजु सिंहलाई सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरबाट पक्राउ गरिएको हो ।
रत्नेश्वर प्रसाद सिंहका छोरा ५६ वर्षीय राजु सिंहले ४० वर्षअघि कर्तव्य ज्यान मुद्दामा संलग्न भई २० वर्ष कैद सजाय पाएका थिए । उनी रौतहटको ब्रहम्पुरी गा.वि.स वडा नं. ९ का बासिन्दा हुन् ।

प्राप्त सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र सर्लाही प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। नाम र धर्म परिवर्तन गरी लुकीछिपी बसिरहेका सिंहलाई प्रहरीले २०७८ माघ २६ गते साँझ ६ बजे पक्राउ गरी माघ २८ गते रौतहट जिल्ला अदालतमा उपस्थित गराएको छ ।
राजु सिंहलाई ४० वर्षपछि पक्राउ गरिनुले कानुनी प्रक्रियालाई बलियो बनाउने र फरार रहेका अन्य दोषीलाई कानूनी कठघरामा ल्याउन मद्दत पुग्ने प्रहरीको विश्वास छ ।