
काठमाडौं, पुस २९ गते ।
काठमाडौं जिल्लामा करिब १ लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप प्रदान गरिने भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका किशोरीहरूलाई यो खोप अभियानमा समेटिने जानकारी दिएका छन् ।
यो अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० विद्यार्थी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरका १२ हजार ७२३ किशोरीलाई खोप दिइनेछ। काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै ५१ हजार ३४७ किशोरीलाई खोप लगाइनेछ भने नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई खोप दिइनेछ ।
यो अभियानका लागि एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रहरू परिचालन गरिनेछ। दुई हजार ४१२ स्वास्थ्यकर्मी खटाएर माघ २२ देखि ६ गतेसम्म अभियान सञ्चालन गरिनेछ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले प्रत्येक नगरपालिकामा खोप समिति गठन गरी कुनै पनि किशोरी खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चितता गरिने बताएका छन् । साथै, छुटेका क्षेत्रहरूको पहिचान गरी विशेष अभियान पनि सञ्चालन गरिनेछ ।
यसैगरी, नेपाल सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
नेपालमा महिलाहरूमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य रहेको र यो क्यान्सरको मुख्य कारण एचपिभी सङ्क्रमण हो भन्ने तथ्यले खोपको आवश्यकता अझै महत्त्वपूर्ण बनाएको छ ।