
गाैशाला, पुस २९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सफल कार्यकालका लागि बधाई र शुभकामना दिएका छन्। महोत्तरी जिल्लाबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका महतोले महोत्तरीको पत्रकारिता क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेका छन् ।

सात दशक लामो नेपाल पत्रकार महासंघको इतिहासमा महोत्तरी जिल्लाबाट महतोको निर्वाचित हुनु महोत्तरीका लागि गर्वको विषय भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे। महतोले १५ वर्षअघि महोत्तरीको बर्दिबासबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। उनी विशेष गरी आवाजविहीनहरूको मुद्दा उठाउँदै पत्रकारितामार्फत जनताका समस्याहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले नवनिर्वाचित केन्द्रीय समितिलाई बालुवाटारमा आमन्त्रण गरी बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा प्रधानमन्त्रीले महतोको योगदानको सराहना गर्दै आगामी कार्यकालका लागि सफलता कामना गरे ।
