
भक्तपुर, माघ १४ गते ।
भक्तपुर जिल्लाका १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ। यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने खोप अभियानअन्तर्गत भक्तपुरमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाइने छ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाका अनुसार, चारवटा नगरपालिकामा खोप लगाउने योजना छ। सूर्यविनायक नगरपालिकामा ४,१६२, भक्तपुर नगरपालिकामा ६,७४२, मध्यपुरथिमि नगरपालिकामा ४,२०३, र चाँगुनारायण नगरपालिकामा २,५८४ किशोरीलाई खोप लगाइनेछ। कक्षा ६ देखि १० सम्मका १६,६२८ किशोरी र विद्यालयबाहिर रहेका १,०६३ किशोरी खोपका लागि छनोटमा छन्।
अभियानका लागि २४३ विद्यालय र ४६ अन्य स्थानमा खोप केन्द्र स्थापना गरिनेछ। खोप लगाउन २८९ स्वास्थ्यकर्मी र ५७० स्वयंसेवक परिचालन गरिने योजना छ।
खतिवडाले खोप लगाउँदा कुनै स्वास्थ्य समस्या नआउने दाबी गर्दै, आकस्मिक अवस्थाका लागि भक्तपुरका प्रमुख अस्पतालहरूमा उपचारको व्यवस्था गरिएको बताए।
सरकारले देशभरका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई लक्षित गर्दै विश्व क्यान्सर दिवसको अवसरमा एचपिभी खोप अभियान सुरु गर्न लागेको हो। यो खोपले पाठेघरको मुखको क्यान्सरबाट ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने बताइएको छ।
भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ। जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अभियान सफल बनाउन आग्रह गरेका छन्।