
काठमाडौं, माघ १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसको अवसरमा पूर्वजले देखाएको मार्गदर्शनलाई अनुसरण गर्दै खोज, अध्ययन र अनुसन्धानको बाटोमा लाग्न सबैलाई प्रेरित गरेका छन् । पूर्वजको योगदानप्रति श्रद्धा व्यक्त गर्दै उनले ज्ञान र अनुसन्धानको मार्ग समाउने प्रयास गर्नुपर्ने बताएका हुन् ।
दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भने, “पूर्वजहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ । योग दिवसले देशभक्ति, पूर्वज, प्रकृति, र हाम्रो भूमिप्रति गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अघि बढ्न प्रेरित गरोस् ।”
प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल, र विश्व शान्तिका लागि योगको महत्वबारे चर्चा गर्दै योगलाई जीवनशैलीमा आत्मसात गर्न आग्रह गरे । “योग यस भूमिको उपज हो। गणित, आयुर्वेद, अन्तरिक्ष, स्वास्थ्य विज्ञानजस्ता क्षेत्रका पूर्वजले गरेका आविष्कारको पुष्टि हो,” उनले भने। योगले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले आदियोगी शिवलाई योगको संस्थापक मान्दै, योग कुनै धर्म, जाति, वा भूगोलमा सीमित नभएको र सम्पूर्ण मानव जातिको कल्याणका लागि समर्पित रहेको स्पष्ट पारे । “योग कुनै धार्मिक सीमामा बाँधिएको छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित विधा हो,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीको सन्देशमा योगको वैज्ञानिक आधार र यसको मानव कल्याणका लागि व्यापक उपयोगितामाथि जोड दिइएको छ । “योग मानव समाजव्यापी बनाउन जरूरी छ,” उनले थपे ।
प्रधानमन्त्री ओलीले योगलाई कुनै विशेष धर्मसँग सम्बन्धित नभइ दर्शनको प्रारम्भिक स्वरूपमा शैव दर्शनसँग जोडिएको बताए । “योगबाट ध्यान, चिन्तन, मनन, र ज्ञानको विकास भएको हो,” उनले भने। संयुक्त राष्ट्रसंघले २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता दिएको तथ्य पनि उनले स्मरण गराए ।
यस अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई योगको अभ्यास र यसको वैज्ञानिक फाइदालाई आत्मसात् गर्न आग्रह गरे ।