
विष्णु गुप्ता
जलेश्वर, माघ २ गते ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संघ सरकारलाई शक्ति, स्रोत र साधनको सम्पूर्ण अधिकार आफैं राखेर प्रदेश र स्थानीय सरकारलाई विकास नगरेको आरोप नलगाउन आग्रह गर्नुभएको छ । महोत्तरीमा आयोजित सूचनाको हक सम्बन्धी एकदिने गोष्ठी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले संघ सरकारले अधिकार र स्रोत साधनको सानो हिस्सा मात्र प्रदेश र स्थानीय निकायलाई दिएर उनीहरूमाथि दोष थुपार्नु अन्यायपूर्ण भएको बताउनुभयो ।
“सबै शक्ति र स्रोत संघ सरकारसँग छ । प्रदेश सरकारलाई सात-आठ प्रतिशत, स्थानीय सरकारलाई आठ-दश प्रतिशत मात्र स्रोत दिएर बाँकी संघ सरकारले राख्छ । त्यसपछि दोष हामीलाई लगाएर हुन्छ ? अधिकार दिन हिचकिचाउने, कानुन नबनाउने अनि दोष लगाउने, यो न्यायसंगत छैन,” मन्त्री लेखीले भन्नुभयो । संघ सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउँदै उहाँले मधेश प्रदेश सरकार संघीयतालाई जोगाउन निरन्तर काम गरिरहेको बताउनुभयो ।
गोष्ठीमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा सञ्चारकर्मीहरूलाई सूचनाको हक सम्बन्धी जानकारी, प्रयोग, र कानुनी व्यवस्थाबारे प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षक द्वय राजेश कुमार कर्ण र राकेश प्रसाद चौधरीले सञ्चारकर्मीहरूलाई सूचनाको हक प्रयोग गर्दा आउने कठिनाई र समाधानका उपायहरूबारे जानकारी गराउनुभएको थियो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले सूचनाको हकलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै, यसको नकारात्मक उपयोग नगर्न सुझाव दिनुभयो । जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले सञ्चारकर्मीहरूलाई सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले महोत्तरीका स्थानीय मिडिया संस्थानहरूको दयनीय अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महोत्तरीको पत्रकारितामा नयाँपन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोष्ठीमा मधेश प्रदेश सभा सदस्य भरत प्रसाद साह, सुरिता साह, महोत्तरी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र मिडिया काउन्सिलका कर्मचारी तथा महोत्तरीका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।









