
जनकपुरधाम, माघ २ गते ।
जसपा, नेपालको समाजवादी नेता तथा मधेश प्रदेशका सांसद रामअशिष यादवले जीवनमा सफल भन्दा पनि मूल्यवान बन्नु आवश्यक रहेको सुझाव दिनुभएको छ। जनकपुरधामस्थित श्री राजर्षि जनक विश्वविद्यालयमा आयोजित ‘सामाजिक नवप्रवर्तन फेलोसिप-२०२५’ को मधेश संस्करणमा विद्यार्थीहरूसँगको अन्तर्क्रियामा बोल्दै उहाँले यो कुरा राख्नुभएको हो ।
प्रदेश सांसद यादवले संघर्ष जीवनको हिस्सा हो भने आलस्य मृत्यु समान रहेको बताउँदै, समयको उचित व्यवस्थापन र योजनाबद्ध अभ्यासले मात्र जीवनमा सार्थकता प्राप्त हुने बताउनुभयो। साथै, मधेश प्रदेश सभाबाट पारित महिला, दलित, मुस्लिम, र आर्य खश समुदायका लागि आरक्षणसहितका ऐनहरूबारे पनि उहाँले जानकारी गराउनुभएको छ। उहाँले विधेयक पारित गर्ने संसदीय प्रक्रियाको पनि विद्यार्थीसँग चर्चा गर्नुभयो ।

कार्यक्रममा समाजिक अभियन्ता रवि कुमार गोयन्काले समाजिक, आर्थिक, र पर्यावरणीय महत्त्वका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो । साथै, गंगासागर सफाइ अभियन्ता तथा युवा व्यवसायी गोयन्काले गंगासागर सफाइ अभियान, दैनिक महागंगा आरती, र हेल्दी स्कुल अभियानबारे अनुभव बाँडेका थिए ।
किंग्स कलेज काठमाडौंका उपप्राध्यापक विजयमणी पौडेलको संयोजनमा भएको यस कार्यक्रममा २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा श्री राजर्षि जनक विश्वविद्यालयका क्याम्पस प्रमुख डा. सरोज कुमार ठाकुरले प्रदेश सांसद यादव र समाजिक अभियन्ता गोयन्कालाई सम्मान गर्नुभएको छ ।


