
जलेश्वर, माघ २ गते ।
महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित नेपाल पत्रकार महासंघ जलेश्वरको सभा हलमा मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा सूचना अधिकारसम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दासले गर्नुभएको थियो ।
गोष्ठीमा मधेश प्रदेशका सूचना तथा सञ्चार मन्त्री राजकुमार लेखी प्रमुख अतिथि रहनुभएको थियो । साथै, विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य सुरिता साह, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, र मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको उपस्थिति थियो । पत्रकार महासंघका सदस्य र अन्य अतिथिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
गोष्ठीमा सूचना अधिकारको महत्त्व, गोपनीयताको हक, र सूचना अधिकारका प्रभावकारी उपकरणहरूबारे आरटीआई फेडरेशनका मधेश प्रदेश उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्णले प्रशिक्षण दिनुभयो । प्रशिक्षणका क्रममा उहाँले सूचना अधिकारलाई जनताको हातमा प्रभावकारी औजारका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख मण्डलले पत्रकारिताको महत्त्व उजागर गर्दै जिल्लामा सञ्चार माध्यमहरूको विकासका लागि आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महोत्तरी जिल्लामा सञ्चालित रेडियो अप्पन मिथिलामा कार्यरत आरजे इर्सादले मैथिली भाषामा उत्कृष्ट सूचना सम्प्रेषण गर्दै आएको उदाहरण प्रस्तुत गर्दै, सञ्चार माध्यमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
महोत्तरी जिल्ला पत्रकार महासंघका अध्यक्ष महेश दासले मिडिया र सरकारी कार्यालयहरूबीचको दूरी घटाउन सहकार्य आवश्यक रहेको बताउँदै, सबैको सहयोगमा मिडिया क्षेत्रलाई सशक्त बनाउन आग्रह गर्नुभयो। उहाँले उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई सहकार्यको अपील गर्दै, सबैले एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस गोष्ठीले सूचना अधिकारको प्रभावकारी प्रयोगमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



