
चितवन, माघ ६ गते ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्न पत्रकारहरु सचेत र जागरूक हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै पत्रकारहरुलाई भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन दरिलो ढंगले लाग्न आग्रह गर्नुभयो।
महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको व्यापार फस्टाएको र सरकारविरुद्ध अनावश्यक टिकाटिप्पणी गरेर नेतृत्वको तेजोबोध गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। उहाँले पत्रकारहरुलाई सत्यता र समृद्धिको पक्षमा निर्भीकताका साथ कलम चलाउन प्रोत्साहित गर्नुभयो।
संगठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भूमिकाको विषयमा आफ्ना धारणा राख्दै, महासचिव लामाले पत्रकारको क्षमता विकास र सुरक्षाका सवालमा संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो।
बैठकमा बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा प्रदेशका जिल्लाका अध्यक्षहरु, केन्द्रीय सदस्यहरु लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरुको समस्या र सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए। नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठबुँदे घोषणापत्र समेत जारी गरेको छ।
आठ बुँदे घोषणापत्रको विवरण
१. गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेशका १० जिल्ला समितिहरु र यस भूगोलबाट केन्द्रीय समितिमा उम्मेदवारहरुलाई मतदान गर्ने सबै सदस्यहरुलाई आभार प्रकट गर्दै विजयी सबैलाई बधाई ज्ञापन।
२. श्रमजीवी पत्रकारहरुको हकहित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनी कार्यान्वयनका लागि दृढ संकल्प।
३. राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा वर्तमान सरकारको कामलाई समर्थन गर्दै, मिडिया मार्फत जनसमुदायसम्म पु¥याउने संकल्प।
४. चितवनमा हुन गईरहेको प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको अधिवेशनलाई भव्य सफल पार्न अपिल।
५. श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका मागहरुको जोडदार समर्थन।
६. श्रमजीवी पत्रकारद्वारा सञ्चालन गरिएको मिडियाको संरक्षण र प्रबर्द्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग।
७. स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत सदस्यहरुको शीघ्र स्वास्थ्य लाभको कामना।
८. मौलाकालिका क्षेत्रको थप विकासका लागि माग।
महासचिव लामाको यो अभिव्यक्तिले पत्रकारितामा सत्यता र समृद्धिको अभियानलाई थप उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।