
गाैशाला, माघ ७ गते ।
महाेत्तरीकाे सोनमा गाउँपालिकामा पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएपछि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन १६ जना नगर प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । यस क्रममा १ जना नगर प्रहरी सहायक निरीक्षक, २ जना नगर प्रहरी हवल्दार, २ जना महिला नगर प्रहरी जवान र ११ जना नगर प्रहरी जवानको पदका लागि भर्ना प्रक्रिया अगाडि बढाइएको छ ।

सशस्त्र बेस क्याम्प रघुनाथपुरमा माघ ६ र ७ गते पहिलो चरणको शारीरिक परीक्षा सम्पन्न भएको छ । यस परीक्षामा उम्मेदवारहरूको तौल, उचाइ, छाती, हात, खुट्टा, चिनअप, सिटअप र पुसअप परीक्षण गरिएको छ । शारीरिक परीक्षणमा सफल उम्मेदवारहरूले आगामी स्वास्थ्य परीक्षण, लिखित परीक्षा, र मौखिक परीक्षामा सहभागी हुनुपर्नेछ । प्रमुख प्रशासकीय अधिकृत उमेश प्रसाद साहका अनुसार यो प्रक्रियाबाट योग्य नगर प्रहरी छनोट गरिनेछ ।

त्यस्तै, देशभर शिक्षकको अभावले प्रभावित विद्यार्थी अनुपातलाई सुधार गर्न सोनमा गाउँपालिकाले ३० जना गाउँ शिक्षक भर्ना गर्ने प्रक्रिया पनि सुरु गरेको छ । पालिकाको विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यी शिक्षकहरूलाई लिखित र मौखिक परीक्षा मार्फत छनोट गरिनेछ ।

गाउँ शिक्षक भर्ना अन्तर्गत माघ ९ गते माध्यमिक विद्यालय खखनामा पहिलो चरणको लिखित परीक्षा सञ्चालन गरिनेछ । पहिलो चरणमा उत्तीर्ण भएका उम्मेदवारहरूले दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुनेछन्, जसबाट उत्तीर्ण हुनेहरूलाई मात्र मौखिक परीक्षामा सहभागी गराइनेछ । परीक्षा प्रक्रिया सम्पन्न भएपछि सफल शिक्षकहरूलाई आवश्यक विद्यालयहरूमा नियुक्त गरिनेछ । शिक्षा संयोजक कौशल कुमार यादवले यो प्रक्रियाले विद्यालयमा शिक्षकको कमी पूरा गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्ने बताए ।


