
विष्णु गुप्ता
जलेश्वर, माघ ७ गते ।
ह्युमन प्यापिलोमा भाइरस (एच.पी.भी) का कारण महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने कार्यक्रम महाेत्तरीकाे मटिहानी नगरपालिकामा माघ २४ गते देखि सुरु हुने भएको छ । मटिहानी नगरपालिकाले सोमबार आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरूको उपस्थितिमा आयोजित अभिमुखीकरण कार्यक्रममा यो जानकारी गराइएको हो।
किशोरीहरूलाई लक्षित खोप कार्यक्रम
कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ६ कक्षा देखि १० कक्षाका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई यो खोप लगाइनेछ। मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले किशोर अवस्थामै लगाइने सिकोलिन खोप ९८ प्रतिशतसम्म प्रभावकारी हुने जानकारी गराउँदै, यसले भविष्यमा महिलाहरूलाई एच.पी.भी बाट हुने पाठेघरको मुखको क्यान्सर लगायत यौनांगमा हुने अन्य समस्याबाट सुरक्षित राख्ने बताए ।

अभियानको रूपमा खोप कार्यक्रम
यस वर्ष यो खोप कार्यक्रम अभियानको रूपमा सुरु गरिने छ भने अर्को वर्षदेखि यसलाई नियमित रूपमा सञ्चालन गरिने छ। यस अभियानबाट मटिहानी नगरपालिकाका १,८६३ किशोरीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। किशोरीहरूलाई खोप कार्यक्रम प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा एक जना शिक्षकलाई स्वयंसेवक राख्ने योजना बनाइएको छ।
सफाइ र जनचेतना कार्यक्रम
खोप लिन विद्यालय तथा स्वास्थ्य संस्था पुग्ने छात्रा र किशोरीहरूलाई मासिक धर्म सम्बन्धी सफाइको विषयमा पनि जनचेतना दिइनेछ। नगरपालिकाले विगतमा पनि पाठेघरको क्यान्सर सम्बन्धी स्क्रिनिङ तथा विशेषज्ञ परामर्श मार्फत नियमित उपचार सेवा प्रदान गर्दै आएको छ।
नगर प्रमुखको प्रतिबद्धता
मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डलले नगरवासीको स्वास्थ्यलाई सुदृढ राख्न नगरपालिकाले प्रभावकारी कार्यक्रमहरू आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडाध्यक्ष, तथा अन्य नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
मटिहानी नगरपालिकामा सुरु हुने यो खोप अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।