
जनकपुरधाम – पञ्चायती व्यवस्था खारेज भएको वर्षौ बितिसकेको भए पनि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा गैरकानुनी पँचायत बसेको छ, जसमा एक पीडित झण्डै कुटिएका छन्।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरमा दुई पक्षीय झगडा मिलाउनको लागि स्थानीय केही पँचहरूले उल्टै पीडित जयकुमार महतोमाथि कुटपिटको प्रयास गरेको आरोप लगाइएको छ। कानुनले गैरकानुनी मानेको पञ्चायतमा पँचहरूको निर्णय नमानेपछि जयकुमारलाई शारीरिक हमला गर्ने प्रयास भएको बताइएको छ।
जयकुमारले घर बनाउने क्रममा शाखा बाटोमा ढुङ्गा राखेपछि छेउको खेतका मालिक रामकुमार महतोसँग विवाद भएको थियो। विवादका क्रममा जयकुमार घाइते भएपछि पँचायत बसेको थियो। तर, पँचायतले उल्टै जयकुमारलाई आर्थिक भार दिने निर्णय गरेपछि उनले निर्णय मान्न अस्वीकार गरे।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज सोनु कुमार साहले घटनाबारे अनुसन्धान भइरहेको बताए। जयकुमारले गाउँमा असुरक्षित महसुस गर्दै प्रहरी कार्यालयमा निवेदन दिएको जनाइएको छ।
यो घटनाले स्थानीयस्तरमा अझै पनि गैरकानुनी पँचायतको चलन कायम रहेको र कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।