
विष्णु गुप्ता
जलेश्वर, माघ ८ गते ।
महोत्तरीको मटिहानी नगरपालिकामा नगर स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानी नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको यो प्रतियोगिता महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मटिहानी नगरपालिका वडा नं ६ स्थित मटिहानी रंगशालामा आयोजना गरिएको यस प्रतियोगितामा नगरपालिका अन्तर्गतका पाँच माध्यमिक विद्यालय सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, विभिन्न दूरीका दौड, हाइजम्प, लङ्गजम्प, र बुद्धिचालसहित २३ प्रकारका खेल समावेश गरिएका छन्। प्रतियोगिता सम्बन्धी जानकारी मटिहानी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्देश्वर साहले दिएका हुन् ।

प्रमुख अतिथि लालबाबु कवारीले उद्घाटन कार्यक्रममा शिक्षा आर्जनसँगै मानसिक विकासका लागि खेलकुदको आवश्यकता औंल्याउँदै खेलकुदले धेरै व्यक्तिलाई अगाडि पुर्याएको र खेलाडीको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए । उनले मटिहानी नगरपालिकाले खेलकुदमा देखाएको तत्परताको प्रशंसा गरे।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले मटिहानीका खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाउन सुझाव दिए। नगरप्रमुख हरिप्रसाद मण्डलले शिक्षा र खेलकुदको सुदृढ विकासप्रति नगरपालिका कटिबद्ध रहेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वडा नं ७ का अध्यक्ष जितनारायन माझी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, लो.स.पा. नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, रा.स.मा.वि. मटिहानीका प्राचार्य ईश्वरी पौडेललगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन समारोहमा मटिहानीका वडाध्यक्ष, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, र विद्यार्थीहरूको सहभागिता रहेको थियो । कक्षा ११ मा अध्ययनरत हिना खातुनले पालिकाले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रतियोगिताले शारीरिक तन्दुरुस्ती र आत्मबल बढाउन सहयोग पुर्याएको भन्दै खुशी व्यक्त गरिन् ।