
गाैशाला, माघ ८ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–२ स्थित एक युवकको शव फेला परेको छ। मृतकको पहिचान पूर्व गाविस अध्यक्ष गोखुल यादवका २८ वर्षीय छोरा नरेन्द्र यादव (ज्ञानु) का रूपमा खुलेको छ । शव अर्धनग्न अवस्थामा फेला परेको र प्रारम्भिक अनुसन्धानमा घाँटी गम्छाले थिचिएको देखिएको छ, जसले हत्याको आशंका उत्पन्न गराएको छ ।
घटनाको गम्भीरता बुझ्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थलमा डग टोलीको सहयोगमा विस्तृत छानबिन सुरु गरिएको छ। एसपी पोखरेलले प्रारम्भिक प्रमाणहरू हत्या भएको संकेत गरे पनि पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।

शव भेटिएपछि स्थानीयबासी त्रसित बनेका छन् भने मृतकका परिवारजनले छानबिनलाई तीव्रता दिन र दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् । प्रहरीले घटनास्थलमा संकलित प्रमाणहरूको विश्लेषण गर्दै घटनाको वास्तविकता उजागर गर्न प्रयासरत रहेको जनाएको छ ।