
कास्की, माघ १३ गते ।
इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको आयोजनामा र गण्डकी मेडिकल कलेजको समन्वयमा प्राथमिक उपचार सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. २७, रिठ्ठेपानीस्थित गण्डकी मेडिकल कलेजको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि र अभिमुखीकरणका लागि आयोजित गरिएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्य इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क.ले गर्नुभएको थियो । कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई विभिन्न प्रकारका आकस्मिक घटनाहरूमा परिचालन हुनुपर्ने अवस्थालाई ध्यानमा राखी, तत्काल बिरामीलाई प्रदान गर्नुपर्ने प्राथमिक उपचार सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।

गण्डकी मेडिकल कलेजका बरिष्ठ डा. तरुण पौडेलले प्रशिक्षण प्रदान गर्दै आकस्मिक अवस्थामा प्राथमिक उपचारको महत्व, त्यसका विधिहरू र सही तरिकाले प्राथमिक उपचार कसरी दिन सकिन्छ भन्ने विषयमा प्राविधिक जानकारी दिनुभयो । उहाँले दुर्घटनास्थलमा हुने सम्भावित अवस्थाहरू, बिरामीको अवस्थाको पहिचान र तिनका प्राथमिक उपचारका चरणबारे पनि प्रहरी कर्मचारीहरूलाई अभिमुखीकरण गराउनुभयो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रशिक्षणपछि सहभागीहरूले यस्तो तालिमले उनीहरूको व्यावसायिक जीवनमा थप दक्षता वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
प्रहरी र गण्डकी मेडिकल कलेजको सहकार्यमा सम्पन्न यो कार्यक्रम आकस्मिक सेवा र प्राथमिक उपचारमा प्रहरीहरूको भूमिकालाई प्रभावकारी बनाउन निकै फलदायी भएको बताइएको छ ।