
महोत्तरी, माघ १५ गते ।
महोत्तरी जिल्लाकाे बलवामा क्षयरोगी बिरामीलाई उपचार अवधिभर पोषण सामग्री वितरण गरी उनीहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण कदम चलाएको छ । मंगलबार एक समारोहबीच बलवा नगरपालिका ७ स्थित स्वास्थ्य चाैकी बनाैटामा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) नेपालले BNMT UK र SABITRI BASNYAT Foundation for TB को आर्थिक सहयोगमा NOURISH TB II परियोजनाको माध्यमबाट पोषण सामग्री वितरण कार्य सञ्चालन गरेको छ ।
क्षयरोगीलाई पोषण सामग्री वितरण कार्यक्रम सुरु
बलवा, औरही, रामगोपालपुर, गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका ५० जना क्षयरोगी बिरामीलाई पोषण सामग्री वितरण गरिएको छ । यो कार्यक्रम स्थानीय पालिकाहरू र BNMT नेपालबीचको द्विपक्षीय सम्झौतामा आधारित छ । यसमा पालिकाहरूले आन्तरिक स्रोत र BNMT UK तथा SABITRI BASNYAT Foundation for TB को सहयोगमार्फत वितरण व्यवस्थापन गरेका छन् ।
जिल्ला कार्यक्रम संयोजक डा. मनोज कुमार साहका अनुसार कार्तिक २०८१ पछि पहिचान भएका १२० जना बिरामीलाई ६ महिनासम्म पोषण सामग्री उपलब्ध गराइनेछ । बिरामीहरूको पोषण अवस्थामा सुधार ल्याउन चामल, दाल, तेल, चना, आटा, मासहारी बिरामीलाई अण्डा, साकाहारीलाई सोयाबीन, तथा ५ वर्ष मुनिका बालबालिका भएका परिवारलाई सबर्वोत्तम पिठो (लिटो) वितरण गरिने व्यवस्था गरिएको छ ।

हालसम्मको प्रगति
कार्तिकदेखि पुषसम्म ८० जना बिरामीले पोषण सामग्री प्राप्त गरिसकेका छन् । पहिलो चरणमा बलवाका १० जना, गौशालाका १० जना, औरहीका ६ जना, रामगोपालपुरका ८ जना र सोनमाका ५ जना बिरामीलाई पोषण सामग्री वितरण गरिएको छ। आज बलवा, औरही र रामगोपालपुर नगरपालिकामा नगर प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख र स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरियो ।
नगरप्रमुखको प्रतिबद्धता
बलवा नगर प्रमुख राम विजय महतोले BNMT नेपालले टि.बी. निदान, उपचार र न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले बिरामीहरूको जीवन रक्षा र उपचार दर बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बिरामीहरूको प्राथमिकता
गरीब, विपन्न, जेष्ठ नागरिक, विद्यार्थी, गर्भवती, सुत्केरी, बेरोजगार र बसाइँसराइ गरि आएका बिरामीलाई प्राथमिकतामा राखेर पोषण सामग्री वितरण गरिएको छ । डा. साहले यस्ता कदमले बिरामीलाई औषधि नियमित रूपमा सेवन गर्न प्रेरित गर्ने र उपचार प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
क्षयरोग निवारणका लागि महोत्तरीमा सञ्चालित यो अभियानले बिरामीहरूको स्वास्थ्य सुधार र उपचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसले भविष्यमा कुनै पनि क्षयरोगीले भोको पेट औषधि खानुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यमा मद्दत पुर्याउनेछ ।

