
चमेली कुमारी
गाैशाला, माघ १२ गते ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ६ स्थित मगरथानामा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । गत शुक्रबार सम्पन्न शिविरमा ३५० जनाभन्दा बढी स्थानीयले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
वरिष्ठ स्वास्थ्यकर्मी सन्तोष रौनियारको नेतृत्वमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ब्लड प्रेसर (Blood Pressure) र सुगर (Sugar) को नि:शुल्क जाँच गरिएको थियो । शिविरमा २० वर्षदेखि ८० वर्षसम्मका व्यक्तिहरू सहभागी भएका थिए। स्वास्थ्यकर्मी रौनियारका अनुसार, परीक्षण गराएका व्यक्तिमध्ये ८० प्रतिशतभन्दा बढीको रक्तचाप उच्च देखिएको थियो भने ५० प्रतिशतभन्दा बढीमा मधुमेहको समस्या पाइएको छ ।

शिविरमा वरिष्ठ स्वास्थ्यकर्मी सन्तोष रौनियारसँगै विश्वनाथ यादव तथा स्वयंसेवक अरुण यादवले सेवा प्रदान गरेका थिए । स्वास्थ्य परीक्षणमार्फत उच्च रक्तचाप र मधुमेहको समस्या पहिचान गर्न सकिएको र भविष्यमा यस्ता स्वास्थ्य शिविर निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकताबारे स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।
स्थानीयवासीहरूले स्वास्थ्य शिविर सञ्चालनले गाउँका धेरै बिरामीलाई प्रारम्भिक रूपमा रोग पत्ता लगाउन सहयोग पुर्याएको भन्दै खुशी व्यक्त गरेका छन् । यस किसिमका नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिएमा ग्रामिण भेगका नागरिकको स्वास्थ्यस्तर सुधार हुने विश्वास गरिएको छ ।






