
सृजनशील व्यवसाय तालिम केन्द्रको आयोजनामा जेष्ठ नागरिकलाई कम्बल, झुल र टर्च वितरण
पवन प्रसाद साह
बिरगंज, माघ १९ गते ।
पर्साकाे बिरगंज महानगरपालिका वडा नम्बर १५ मा जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने उद्देश्यले एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । सृजनशील व्यवसाय तालिम केन्द्र प्रा.लि. पर्साको आयोजनामा र बिरगंज महानगरपालिका वडा नम्बर १५ को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा लछुमनवा, भिस्वा र भेडियाही टोलका २०० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरियो ।
कार्यक्रमका दौरान जेष्ठ नागरिकहरूलाई कम्बल, फाइबर (फोम), झुल र टर्च (लाइट) वितरण गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो। स्थानीय समुदायका जेष्ठ नागरिकहरूको सम्मानमार्फत सामाजिक सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
जेष्ठ नागरिकहरू देशका अभिभावक: वडाध्यक्ष यादव
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश प्रसाद यादवले जेष्ठ नागरिकहरू राष्ट्रका अभिभावक भएको उल्लेख गर्दै समाजको हरेक तहबाट उनीहरूलाई सम्मान र सहयोग गरिनु पर्ने बताए । “जेष्ठ नागरिकहरूको अनुभव र योगदानले समाजलाई अघि बढाउन ठूलो प्रेरणा मिल्छ,” उनले भने, “यस प्रकारका कार्यक्रमले उनीहरूलाई सम्मान गर्ने मात्र होइन, भावनात्मक रुपमा पनि नजिक ल्याउने काम गर्छ ।”
कार्यक्रम वडाध्यक्ष रमेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव बिरेन्द्र साह, सृजनशील व्यवसाय तालिम केन्द्रका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समुदायमा सकारात्मक सन्देश
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले सम्मानित हुँदा खुशी व्यक्त गर्दै यस्ता गतिविधिले आफूहरूलाई समाजले सम्झिएको महसुस हुने बताए । आयोजक संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
समाप्त कार्यक्रममा स्थानीय बासिन्दा र सहभागीहरूले आयोजक संस्थाको प्रशंसा गर्दै यस्ता कार्यहरूबाट समाजमा सकारात्मक ऊर्जा फैलिने विश्वास व्यक्त गरेका थिए ।