
नवलपरासी (पूर्व), माघ १९ गते ।
नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार गैँडाकोटमा नेकपा एमालेद्वारा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला अचानक बेहोस भएका थिए।
घटनापछि मियालाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो तर उपचारका क्रममा उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। मियाको स्वास्थ्यमा पहिलेदेखि कुनै गम्भीर समस्या रहेको जानकारी नभए पनि घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष मिया आफ्नो सक्रिय राजनीतिक भूमिकाका कारण स्थानिय स्तरमा लोकप्रिय नेता मानिन्थे। उनको असामयिक निधनले कावासोती नगरवासीमा शोकको छाँया छाएको छ। स्थानीयबासी, राजनीतिक सहकर्मीहरू र शुभचिन्तकहरूले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन्।
नेकपा एमालेका जिल्ला अध्यक्षले मियाको निधनले पार्टीले एउटा सक्षम र प्रतिबद्ध कार्यकर्तालाई गुमाएको बताएका छन्। नगरपालिकाले शोकको घोषणासहित विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ।