
विष्णु गुप्ता
जलेश्वर, माघ २० गते ।
महिलामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाईरस(एच.पि.भी.) विरुद्धको खोप महोत्तरी गाउँपालिकाका १७ सय १७ किशोरीलाई लगाउने लक्ष्य रहेको छ । गाउँपालिकाको सभाहलमा खोप अभियान तथा नियमित खोप सेवा सुरुवातको लागि आइतबार महोत्तरी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति, संचारकर्मी तथा सरोकारवालाहरुको बैठकमा माघ २४ गते देखी ३० गते समम् खोप अभियान संचालन हुने सो जानकारी गराइएको हो ।
महोत्तरी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ६ कक्षा देखी १० कक्षाका छात्रा तथा विद्यालय नजाने १० देखी १४ वर्षका किशोरीहरुमा सो खोप लगाइने महोत्तरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्रप्रसाद यादवले जानकारी दिए । किशोरी अवस्थामा मैं लगाइने एच.पि.भी विरुद्धको सिकोलिन खोप ९८ प्रतिशत समम् प्रभावकारी हुने तथा यसले भविष्यमा महिलाहरुलाई एच.पि.भी बाट हुने पाठेघर मुखको क्यान्सर लगायत यौनांगमा हुने अन्य समस्याहरु बाट समेत सुरक्षित राख्ने यादवले जानकारी दिए ।
उक्त ह्युमन प्यापिलोमा भाईरस विरुद्धको खोपको प्रभावकारिता र खोप अभियानलाई प्रभावकारी रूपले संचालन गर्न बनाईएको योजना, स्वास्थ्यकर्मी र स्वयंसेवक व्यवस्थापन बारे जानकारी सँगै किशोरीहरुमा लगाइने उक्त खोप कार्यक्रम यस वर्ष अभियानको रुपमा संचालन गरिने र अर्को वर्ष देखी यसलाई नियमित रुपमा संचालन गरिने योजना रहेको जनाईएको छ।
महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिपकुमार पाण्डेय
कुनै किसिमको भ्याक्सिन अभियान संचालन हुँदा त्यस बारे विभिन्न प्रकारका अफवाह र भय सिर्जना हुने समस्या देखा पर्ने भएकाले अभियानलाई सतप्रतिशत सफल गर्न सबै जनप्रतिनिधि एकजुट भएर सकारात्मक प्रचार-प्रसार समेत गरिनु आवश्यक रहेको बताए । उनले लक्षित सबै समुदाय र किशोरीहरुमा खोप अभियान प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उक्त कार्यक्रममा गाउँपालिका कर्मचारी, शाखा प्रमुखहरु, स्थानिय प्रशासन, महिला स्वयंसेविका लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।