
दिपेस कुमार शाह
राैतहट, माघ २३ गते ।
रौतहटकाे कटहरिया नगरपालिकामा आजदेखि एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ । स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवका अनुसार खोप कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।
देशभर माघ २२ गतेबाट विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सुरु गरिसकेको छ। तर, सरस्वती पूजाका कारण कटहरिया नगरपालिकासहित रौतहट जिल्लाका १८ वटै पालिकामा यो अभियान माघ २३ गते अर्थात् आजदेखि सञ्चालन हुन लागेको हो।
कटहरिया नगरपालिकाभर १० देखि १४ वर्ष उमेर समूहका २,४१३ किशोरीलाई एचपीभी खोप लगाइने योजना छ। स्वास्थ्य संयोजक यादवका अनुसार, “कोही पनि किशोरी खोपबाट वञ्चित हुन नहुने भएकाले सबै अभिभावक, विद्यालय तथा समुदायलाई पूर्ण सहयोग गर्न अनुरोध गरिन्छ।”
सरकारले ९० प्रतिशत किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, नेपालमा औसत रूपमा प्रत्येक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस रोगको जोखिम कम गर्न खोप महत्वपूर्ण हुने भएकाले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको डाक्टरहरू बताउँछन्।
कटहरियामा आज दिउँसो एचपीभी खोप अभियानको औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएको छ। सामाजिक सञ्जालमार्फत समेत डाक्टर रुबि प्रधान र डाक्टर शंकर महत्वले खोपको महत्त्वबारे जानकारी गराउँदै अभियानलाई सफल बनाउन अपिल गरेका छन् ।